सीमामा सास्ती र राज्यको उदासिनताप्रति महन्थ ठाकुरको आक्रोश, विद्रोहमा जाने चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १० बिहिबार
1.2k
Shares
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेस र नेपाल–भारत सीमा क्षेत्रमा व्याप्त अशान्ति एवं सर्वसाधारणमाथि भइरहेको दुर्व्यवहारप्रति चिन्ता व्यक्त गरे। सीमा नाकामा जनताले भोग्नुपरेको सास्ती र राज्यको बेवास्ताका कारण आफूहरू 'विद्रोहको नजिक' पुगेको चेतावनी उनले दिए।
अध्यक्ष ठाकुरले सीमा क्षेत्रका भन्सार र सुरक्षाकर्मीले 'तजबिजी अधिकार' को दुरुपयोग गरी सर्वसाधारणलाई दुःख दिने गरेको बताए। कानून स्पष्ट नहुँदा हाकिमहरूको तजबिजी चल्ने र त्यसले भ्रष्टाचार एवं सास्ती बढाएको उनको आरोप छ। विगतमा काम र खाद्यान्नका लागि मानिसहरू नेपाल आउने गरेको स्मरण गर्दै ठाकुरले अहिले स्थिति उल्टो भएको बताए। सीमा सुरक्षाका नाममा महिलाहरू सबैभन्दा बढी प्रताडित भइरहेको भन्दै उनले आक्रोश व्यक्त गरे।
उनले भने, "सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा पनि ट्याक्सको दायरा भन्दै घण्टौँ कुराउने, अनुहार हेरेर व्यवहार गर्ने र मानिसहरूलाई अपमानित गर्ने काम भइरहेको छ। खाद्यान्न र नुन–तेलका लागि भारतीय बजारको बाध्यता छ। अहिले गरिब जनता आधा किलो चामल, पीठो, नुन र कुकिङ्ग तेलका लागि सीमा पारि जान बाध्य छन्। त्यही एक–दुई किलो सामान ल्याउँदा पनि सीमामा लुटिने र खोसिने डर छ। मन्त्रीज्यूहरू मिटिङमा व्यस्त हुनुहुन्छ, हाम्रो कुरा सुन्ने समय उहाँहरूसँग छैन। हामी विद्रोही त होइनौँ, तर राज्यको यस्तै व्यवहार रहिरहने हो भने हामी विद्रोहको निकै नजिक छौँ।"
नेपाल र भारतबीचको 'रोटी–बेटी' को सम्बन्धमा राज्यले कठोर व्यवहार देखाएकोमा उनले आपत्ति जनाए। विवाहका गाडीहरूलाई रोक लगाउने र जन्ती–बरीतलाई पैदल हिँडाउन बाध्य पार्ने कार्यले दुई देशको सांस्कृतिक वातावरण बिगारिरहेको उनको तर्क छ। वर्तमान सरकारलाई 'हेलिकप्टर सरकार' को संज्ञा दिँदै उनले राजधानीमा बस्ने मन्त्रीहरूलाई मधेसको भुइँमान्छेको पीडा थाहै नभएको बताए। अध्यक्ष ठाकुरले मधेसका बुद्धिजीवी र मिडियाले अहिले बिस्तारै आँखा खोल्न थालेको भए पनि सत्ताले मधेसको आवाजलाई अझै बेवास्ता गरिरहेको गुनासो गरे।