संरचनागत सुधार र स्पष्ट कानूनी व्यवस्था भएमात्र संघीयता प्रभावकारी : माधव सापकोटा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १३ आइतबार
346
Shares
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माधव सापकोटाले कानूनी अस्पष्टता र तहगत बजेट दोहोरोपनाका कारण संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानले सबै तहका सरकारलाई स्रोत–साधन उपयोगको अधिकार दिएको भए पनि आवश्यक कानून नबन्दा व्यवहारिक रूपमा अन्तरविरोध सिर्जना भएको टिप्पणी गरे।
उनका अनुसार स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय कमजोर हुँदा नीति कार्यान्वयन प्रभावकारी हुन सकेको छैन।
सापकोटाले तीनै तहका सरकारले पूर्वाधार क्षेत्रमा एउटै प्रकृतिको बजेट विनियोजन गर्दा स्रोतको दोहोरोपन र कार्यक्षमतामा कमी आएको बताए। उनले शिक्षा, स्वास्थ्य र कृषिजस्ता आधारभूत क्षेत्रमा स्थानीय सरकारको बजेट केन्द्रित हुनुपर्नेमा जोड दिए।
उनले संघीय सरकारले संविधानअनुकूल आवश्यक कानून निर्माणमा अग्रसरता लिनुपर्ने बताए। “कानूनी स्पष्टता नहुँदा संघीयतामा अन्तरविरोध देखिएको छ,” उनले भने।
सापकोटाले संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डै दुईतिहाइ समर्थन रहेको उल्लेख गर्दै राजनीतिक इच्छाशक्तिका साथ काम गरे संघीयतासम्बन्धी धेरै समस्या समाधान गर्न सकिने धारणा व्यक्त गरे।
उनका अनुसार संरचनागत सुधार र स्पष्ट कानूनी व्यवस्था भए मात्र संघीयता प्रभावकारी बन्न सक्छ।