सुकुमवासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको तत्काल संरक्षण गर्न निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
302
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुमवासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको तत्काल संरक्षण गर्न निर्देशन दिएकी छन्। शनिबार थापाथलीस्थित बागमती नदी किनारको खाली गराइएको स्थानको निरीक्षण गर्दै उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई तारबार लगाएर जग्गा सुरक्षित राख्न निर्देशन दिएकी हुन्। यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग समन्वय गर्न र सार्वजनिक निर्माण विभागमार्फत काम थाल्न उनले बताएकी छन्।
कार्यवाहक प्रमुख डंगोलले आइतबार नागार्जुनको इचङ्गुस्थित कोलोनीको भौतिक अवस्थाको समेत निरीक्षण गरिन्। महानगरले नदी किनारका अव्यवस्थित बस्तीबाट हटाइएका वास्तविक भूमिहीनहरूलाई ती नवनिर्मित भवनहरूमा स्थानान्तरण गर्ने योजना बनाएको छ।
नदी किनारका सार्वजनिक जग्गामा रहेका अनधिकृत संरचना हटाउने क्रममा वैशाख १२ गते थापाथली क्षेत्रको बस्ती खाली गराइएको छ। महानगरले बिहीबारदेखि नै माइकिङ गरेर सूचित गरेपछि शुक्रबार र शनिबार बिहानसम्म धेरै परिवारले आफैँ टहराहरू हटाएका थिए। आफैँ खाली गर्नेहरूलाई सहयोग गर्न महानगरले बिहान ६ बजेको निर्धारित समयलाई पछाडि सारेर ८ बजेबाट मात्र डोजर चलाएको थियो। वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकारका अनुसार यस वडामा थापाथली र वंशीघाट गरी जम्मा ३३२ घरटहरा थिए, जसमध्ये थापाथलीतर्फका १३६ संरचना भत्काइएका छन्।
बस्ती छाडेर अन्यत्र जानेहरूका लागि महानगर प्रहरी बलले सवारी साधन र जनशक्ति परिचालन गरी सामान ओसार्न सहयोग पुर्याएको थियो। थापाथलीस्थित प्रसूति गृहको पछाडि र विश्व निकेतन विद्यालय पछाडिको वंशीघाट क्षेत्रमा यो अभियान केन्द्रित रहेको छ।
बागमती र मनोहरा नदी किनारका अन्य क्षेत्रमा पनि महानगरको डोजर चलेको छ। वडा नं. ९ तर्फको सिनामंगल क्षेत्रका १६२ घरधुरी खाली गराइएपछि आइतबार वडा नं. ३१ को जागृतिनगरमा रहेका ४७६ घरटहरा भत्काउने काम सुरु गरिएको छ। महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार आइतबार मनोहरा क्षेत्र र मध्यपुर थिमि दुवैतर्फका अनधिकृत संरचनाहरू हटाउने कार्यलाई निरन्तरता दिइएको छ।