मुगु कर्णाली जलविद्युत आयोजनाको ईआईए सार्वजनिक, चार खर्ब ६० अर्ब लागत अनुमान
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १६ बुधबार
256
Shares
बाजुरा । मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना (१,९०२ मेगावाट) को वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) मस्यौदा प्रतिवेदनसम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।
बाजुराको बूढीनन्दा नगरपालिका-कोल्टीमा भएको कार्यक्रममा ईआइए मस्यौदा प्रतिवेदन सरोकारवाला समक्ष सार्वजनिक गरिएको हो ।
आयोजनाको केन्द्रीय कार्यालय रहने बूढीनन्दा नगरपालिका-५ को वीरसैनमा प्रतिवेदन सार्वजनिक गरिएको जनाइएको छ ।
करिब चार खर्ब ६० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना देशकै ठूलो जलाशययुक्त जलविद्युत आयोजनामध्ये एक मानिएको छ ।
जेभीजेड कन्सल्ट प्रालि र नेपाल इन्भाइरनमेन्ट तथा डेभलपमेन्ट कन्सल्ट्यान्ट प्रालिको संयुक्त सहकार्यमा तयार पारिएको प्रतिवेदन आयोजना प्रमुख सूर्य पाण्डेले सार्वजनिक गरेका हुन् । उनका अनुसार आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।
आयोजनाबाट बाजुरा, मुगु, हुम्ला र कालीकोट गरी चार जिल्लाका १० पालिका र ३२ वडामा प्रत्यक्ष प्रभाव पर्ने अनुमान गरिएको छ ।
कर्णाली नदीमा दुई सय ८३ मिटर अग्लो बाँध निर्माण गरिनेछ । बाँध निर्माणपछि करिब ४५ किलोमिटर माथिल्लो तटीय क्षेत्रसम्म जलाशय फैलिनेछ ।
बाँधको लम्बाइ करिब एक हजार ९० मिटर रहनेछ भने जलाशयको क्षेत्रफल ४४.५० वर्ग किलोमिटर रहने अनुमान गरिएको छ ।
आयोजना निर्माणका लागि दुई हजार ३७९.१३ हेक्टर निजी र दुई हजार ९५.४२ हेक्टर सरकारी गरी कुल पाँच हजार ३७४.५५ हेक्टर जमिन आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ ।
यस आयोजनाबाट पाँच हजार ९७६ निजी संरचना डुबानमा पर्ने देखिएको छ । जसमा तीन हजार ३३१ घर, एक हजार ६४४ शौचालय र ८९५ गोठ छन् । साथै १९४ सार्वजनिक संरचना पनि डुबानमा पर्ने अनुमान गरिएको छ ।
प्रभावित क्षेत्रका स्थानीयमध्ये ७० प्रतिशतले मुआब्जा स्वरूप नगद माग गरेका छन् भने ३० प्रतिशतले घर तथा जमिन नै माग गरेको प्रतिवेदनमा उल्लेख छ ।
आयोजनाका लागि चौधरी ग्रुपको सिजी इनरगो प्रालिबाट मात्र प्रस्ताव परेको थियो । एकमात्र प्रस्ताव परे पनि मूल्यांकन गर्न सकिने प्रावधान अनुसार प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।
हाल आयोजनाअन्तर्गत परीक्षण सुरुङ निर्माण कार्यसमेत जारी छ । चार ओटा सुरुङ निर्माण गरी परीक्षण गरिनेछ ।
सुरुङ-०१ को लम्बाइ २०० मिटर, सुरुङ-०२ को १५० मिटर, सुरुङ-०३ को ७९८ मिटर र सुरुङ-०४ को २०० मिटर रहेको छ ।
कुल सुरुङ लम्बाइ एक हजार ३४८ मिटर रहने भने सुरुङ डी आकारको बनाइने बताइएको छ ।