arrow

देशभर हावाहुरी, चट्याङ र वर्षाको 'अलर्ट': उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह [भिडियो]

हावाहुरी र चट्याङ शुरू हुनासाथ तत्काल सुरक्षित स्थान वा घरभित्र जान र झ्यालढोका राम्ररी बन्द गर्न अनुरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १६ बुधबार
dinesh-bhatta-.jpg

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न भागमा तीव्र गतिको हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको भन्दै देशभर उच्च सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र मौसमी मोडलिङका आधारमा प्राधिकरणले देशैभर ‘अलर्ट’ जारी गरेको हो। 

प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टका अनुसार आज विशेषगरी सुदूरपश्चिमका कञ्चनपुर, डडेल्धुरा, डोटी सहित लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र परासी क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना छ। त्यसैगरी गण्डकी र बागमती प्रदेशका नवलपुर र चितवन तथा मधेस प्रदेशका बारा, पर्सा, धनुषा र कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लाहरूमा पनि यो मौसमी प्रणालीको प्रभाव देखिनेछ। यो प्रणाली पश्चिमबाट सुरु भई क्रमशः पूर्वतर्फ सर्दै जाने देखिएकाले सबै क्षेत्रमा सावधानी आवश्यक छ।

कार्यकारी प्रमुख भट्टले हावाहुरी र चट्याङ सुरु हुनासाथ तत्काल सुरक्षित स्थान वा घरभित्र जान र झ्यालढोका राम्ररी बन्द गर्न अनुरोध गरेका छन्। घरबाहिर वा खुला स्थानमा आगो बालिएको भए तत्काल निभाउनुपर्ने र तीव्र हावाहुरीले आगो उडाएर बस्ती वा वनजङ्गलमा डढेलो लाग्न सक्ने जोखिमप्रति उनले सचेत गराएका छन्। 

कमजोर र लड्न सक्ने संरचना, अग्ला रुख, बिजुली तथा टेलिफोनका खम्बा नजिक नबस्न र लत्रिएका तारहरू नछुन प्राधिकरणले विशेष आग्रह गरेको छ। यात्रा गरिरहेका व्यक्तिहरूले हावाहुरी सुरु हुनासाथ सुरक्षित स्थानमा सवारी साधन रोक्नुपर्ने र रुख खसेर दुर्घटना हुन सक्ने भएकाले रुखमुनि सवारी पार्किङ नगर्न सुझाव दिइएको छ। हवाई उडानका सन्दर्भमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नै निगरानी प्रणालीमार्फत समन्वय गरिरहेको र मौसममा खराबी देखिएमा उडानको मार्ग परिवर्तन वा डाइभर्ट गरिने जानकारी दिइएको छ।

विपद्को समयमा तत्काल उद्धार र राहतका लागि सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति र स्वयंसेवकहरूलाई ‘हाई अलर्ट’ मा राखिएको छ। कुनै पनि दुर्घटना भएमा तत्काल नेपाल प्रहरीको १००, सशस्त्र प्रहरीको १११४ र विपद् उद्धारको टोल फ्री नम्बर ११४९ मा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ। 

जल तथा मौसम विज्ञान विभागले प्रत्येक दुई घण्टामा मौसमको अद्यावधिक विवरण सार्वजनिक गर्ने भएकाले स्थानीय स्तरमा प्रवाह भइरहेका आधिकारिक समाचार र मौसम बुलेटिनको जानकारी लिइरहन समेत सर्वसाधारणलाई आग्रह गरिएको छ। यो मौसमी प्रणालीले तराई र मध्यपहाडी क्षेत्रका धेरै ठाउँमा असर पुर्‍याउन सक्ने भएकाले मेघगर्जन र चट्याङबाट जोगिन मानवीय र पशु चौपायाको सुरक्षामा विशेष ध्यान दिनुपर्ने देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ