चराउन लगिएको बाख्रामाथि बज्रियो चट्याङ, ३९ ओटा मरे, त्यति नै बेपत्ता
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १७ बिहिबार
414
Shares
काठमाडौँ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ स्थित राउते ओडार भन्ने स्थानमा बुधबार दिउँसो चट्याङ पर्दा ठुलो सङ्ख्यामा बाख्रा मरेका छन्। अपराह्न करिब ४ बजेतिर परेको चट्याङका कारण स्थानीय दुई किसानका ३९ वटा बाख्रा घटनास्थलमै मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवं प्रवक्ता नरेश बहादुर शाहीका अनुसार रानी सैन वनमा बाख्रा चराउन लगिएको समयमा पानीसँगै चट्याङ परेको थियो। प्रहरीले घटनास्थल पुगेर संकलन गरेको विवरणअनुसार स्थानीय सज्जन कडाराका ११ वटा बाख्रा मरेका छन् भने १५ वटा बेपत्ता छन्। त्यस्तै, जसबिर रावलका २८ वटा बाख्रा मरेका छन् भने २४ वटा बाख्रा हराइरहेका छन्। यस घटनामा मानवीय क्षति भने भएको छैन।
बाजुरामा प्राकृतिक विपत्तिका कारण पशुचौपाया क्षति हुने क्रम बढ्दो छ। मंगलबार मात्रै पनि चट्याङ र पहिरोमा परेर १६ वटा भेडाबाख्रा मरेका थिए भने ३८ वटा हराएका थिए। वर्षेनी हुने यस्ता दैवी प्रकोपजन्य घटनाबाट बाजुराका किसानहरूले करोडौँको क्षति व्यहोर्नुपरेको छ। व्यावसायिक रूपमा भेडाबाख्रा पालन गर्दै आएका किसानहरू एक्कासि ठुलो सङ्ख्यामा क्षति भएपछि निकै मारमा परेका छन्।