arrow

सुदूरपश्चिममा नौ महिनामा १४ सय ६० फरार कैदीबन्दी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १७ बिहिबार
nepal-police12.jpg

काठमाडौँ । सुदूरपश्चिम प्रदेश प्रहरीले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा विभिन्न आपराधिक घटनामा संलग्न रही फरार रहेका १ हजार ४६० जना कैदीबन्दीलाई पक्राउ गरेको छ।

अदालत र जिल्ला प्रशासन कार्यालयबाट कैद सजाय तथा जरिवाना तोकिए पनि फरार रहँदै आएका यी प्रतिवादीहरूलाई प्रदेशका नौवटै जिल्लाबाट पक्राउ गरी कारागार चलान गरिएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार यस अवधिमा सबैभन्दा बढी कैलालीबाट ७३२ र कञ्चनपुरबाट ४१० जना पक्राउ परेका छन्।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पदम विष्टका अनुसार अन्य जिल्लाहरूमध्ये डडेल्धुराबाट १०१, दार्चुलाबाट ७३, बझाङबाट ५८, अछामबाट ४३, बाजुराबाट २२, डोटीबाट १२ र बैतडीबाट ९ जना फरार प्रतिवादी पक्राउ परेका छन्। लामो समयदेखि सजाय भुक्तान नगरेकाहरूलाई पक्राउ गर्न विशेष प्रहरी टोली परिचालन गरिएको छ। विशेषगरी गत भदौमा भएको 'जेनजी' आन्दोलनका क्रममा कारागारबाट भागेका १ हजार ४५८ कैदीबन्दीमध्ये हालसम्म १ हजार १२० जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने बाँकी ३३८ जना अझै फरार छन्।

कारागारबाट भागेकामध्ये धेरैजसो भारततर्फ गएर लुकेको हुनसक्ने प्रहरीको अनुमान छ। कञ्चनपुर प्रहरीले त फरार कैदीबन्दी पक्राउ गर्न विशेष अभियान नै सञ्चालन गरेको छ, जसअन्तर्गत पछिल्लो एक सातामा मात्रै ७६ जना प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता हेमबहादुर शाहीका अनुसार पक्राउ परेकाहरूमध्ये अधिकांश लागुऔषध मुद्दाका रहेका छन्। यो सक्रियताले कानुनी राज्यको अनुभूति गराउन र दण्डहीनता अन्त्य गर्न मद्दत पुग्ने प्रहरीको विश्वास छ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ