बुबाको हत्या गरी १८ वर्षदेखि फरार अभियुक्त चितवनबाट पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
380
Shares
काठमाडौँ । रौतहटमा १८ वर्षअघि आफ्नै बुबाको बीभत्स हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ (साविक जयनगर गाविस–४) का ४९ वर्षीय राम विलास महतो रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटले लुकिछिपी बसिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार २०६४ जेठ २० गते राति साविक जयनगर गाविस–४ स्थित गोठ घरमा ६५ वर्षीय विश्वेश्वर महतो कोइरीको हातखुट्टा बाँधेर धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्याको मुख्य कारण ऋण र जग्गा विवाद रहेको देखाएको छ। अभियुक्त राम विलासले गाउँका धेरै व्यक्तिसँग ऋण लिएका थिए भने अड्डा अदालतमा जग्गा खिचोलासम्बन्धी मुद्दासमेत चलिरहेको थियो।
मुद्दाको खर्च जुटाउन नसकेपछि उनले आफ्नै बुबाको हत्या गरेर विपक्षीहरूलाई ‘ज्यान मुद्दा’ मा फसाउने निकै डरलाग्दो योजना बनाएका थिए। विपक्षीहरू जेल गएमा आफूले ऋण तिर्नु नपर्ने र जग्गा विवाद पनि सुल्झिने उनको दाउ थियो।
हत्यापछि शङ्का लाग्ने डरले राम विलास स-परिवार फरार भएका थिए। प्रहरीले सूक्ष्म अनुसन्धान र खोजतलास जारी राख्ने क्रममा उनलाई १८ वर्षपछि २०८३ वैशाख १६ गते चितवनमा फेला पार्न सफल भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका महतोमाथि हाल थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ। १८ वर्षसम्म कानुनको आँखा छल्न सफल भए पनि अन्ततः अभियुक्त प्रहरीको फन्दामा परेका छन्।