arrow

पोखरामा ‘कोसेली घर’ परियोजना: अपसाइकलबाट अर्थतन्त्र बलियो बनाउने प्रयास [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १९ शनिबार
koseli-ghar-pokhara-19-01.jpg

पोखरा । पोखरा महानगरपालिकाले फालिएका वस्तुहरूको पुनः प्रयोग (रिसाइकल तथा अपसाइकल) प्रवर्द्धन गर्ने उद्देश्यसहित सवा दुई अर्ब रुपैयाँ लगानीमा अत्याधुनिक ‘कोसेली घर’ निर्माण गरिरहेको छ।

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्र परिसरमा निर्माणाधीन यस परियोजनाले प्रत्यक्ष रूपमा झन्डै तीन हजार जनालाई रोजगारीसँग जोड्ने लक्ष्य राखेको छ।

महानगर प्रमुख धनराज आचार्यले यो केन्द्र पोखराको पहिचान झल्किने ‘घोप्ट्याइएको ढुङ्गा’ शैलीमा डिजाइन गरिएको र यस्तो वास्तुकला नेपालमै दुर्लभ रहेको दाबी गरेका छन्।

दक्षिण कोरियाली सरकारको करिब दुई अर्ब २५ करोड रुपैयाँ सहयोगमा सञ्चालन भइरहेको परियोजनामा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र कोइकाको साझेदारी रहेको छ।

परियोजना कार्यान्वयनका लागि शिवालय चोकमा कार्यालय स्थापना गरी स्थानीय तहसँग समन्वय गर्दै काम अघि बढाइएको छ।

महानगरका ३३ ओटै वडामा सय-सय जनासम्म सहभागी हुने सामुदायिक समूह गठन गरिएका छन्।

ती समूहलाई आवश्यक प्राविधिक उपकरण तथा सामग्री उपलब्ध गराउँदै फोहोर व्यवस्थापनलाई आयआर्जनसँग जोड्ने प्रयास भइरहेको प्रमुख आचार्यले बताएका छन्।

एक वर्ष छ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको ‘कोसेली घर’ परियोजनाको ठेक्का काठमाडौँको एक निर्माण कम्पनीले पाएको छ। परियोजनाले नकुहिने फोहोर प्रशोधन गरी नयाँ सामग्री उत्पादन गर्नेछ भने यसलाई ‘लर्निङ सेन्टर’का रूपमा विकास गरिनेछ।

परियोजनाअन्तर्गत ‘ग्रीन भेन्चर जोन’ निर्माण हुँदैछ, जसले फोहोर व्यवस्थापनलाई पर्यटनसँग जोड्ने लक्ष्य लिएको छ।

परियोजनाका फोकल पर्सन इन्जिनियर नेत्र तिमिल्सिनाका अनुसार यहाँ फोहोर संकलनभन्दा पनि त्यसलाई मूल्यवान सामग्रीमा रूपान्तरण गर्ने सीपको प्रदर्शन र प्रशिक्षणमा जोड दिइनेछ।

महानगरले एक सय ३६ समुदायलाई छनोट गरी स्थानीयलाई फोहोरबाट आकर्षक सामग्री बनाउने तालिम दिइरहेको छ।

उत्पादन गरिएका सामग्रीहरू यही केन्द्रमा प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछ।

‘रिसाइकलभन्दा अपसाइकलमा बढी जोड दिएका छौँ,’ तिमिल्सिनाले भनेका छन्, ‘पुराना कपडा वा फर्निचरलाई नयाँ मूल्य दिँदै आकर्षक सामग्री बनाइनेछ, जसले स्थानीयको आम्दानी बढाउनेछ।’

यो केन्द्र विद्यार्थी तथा स्थानीय तहका प्रतिनिधिहरूका लागि अध्ययनस्थलका रूपमा पनि विकास गरिनेछ।

साथै फेवाताल, सराङकोट र पुम्दीकोट आउने पर्यटकलाई लक्षित गर्दै यसलाई नयाँ पर्यटकीय गन्तव्य बनाउने योजना रहेको महानगरले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ