arrow

नेपाली कम्युनिष्ट पार्टीको घोषणा

आगामी मङ्सिरमा नेकपाले एकता महाधिवेशन गर्ने

५० प्रतिशत युवा नेतृत्व सुनिश्चित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १९ शनिबार
nepali-communist-party-prachanda.jpg

काठमाडौँ  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिरमा आफ्नो एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने औपचारिक घोषणा गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको छ। 

प्रवक्ता प्रकाश ज्वालाका अनुसार महाधिवेशनअघि जेठ मसान्तभित्र केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी र जनवर्गीय सङ्गठनहरूको एकीकरण तथा समायोजन सम्पन्न गरिनेछ। साङ्गठनिक कार्यतालिका अनुसार साउन मसान्तसम्म सदस्यता नवीकरण र विस्तार अभियान चलाइनेछ भने भदौ १५ सम्म वडा, भदौ १६ देखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ सम्म प्रदेश अधिवेशन सम्पन्न गरिनेछ।

नेकपाले आफ्नो साङ्गठनिक संरचनामा आमूल परिवर्तन गर्दै वडादेखि केन्द्रसम्मका सबै निर्वाचित कमिटीहरूमा युवा र नवयुवाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ। पार्टीको वडादेखि केन्द्रसम्मका सबै कमिटीहरू समानुपातिक र समावेशी मान्यता अनुसार निर्वाचित हुनेछन् जसमा अनुभवी नेताहरूसँगै नयाँ पुस्ताको बलियो उपस्थिति रहनेछ। यसका साथै देशको राजनीतिक आवश्यकतालाई मध्यनजर गर्दै संविधानमा परिमार्जनका लागि सुझाव दिन ११ सदस्यीय 'संविधान संशोधन सुझाव कार्यदल' समेत गठन गरिएको छ।

कार्यदलमा देवप्रसाद गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रनध्वज लिम्बू, रेखा शर्मा र गणेश विश्वकर्मा सदस्य रहेका छन् भने विज्ञका रूपमा वरिष्ठ अधिवक्ताहरू डा. मुक्तिनारायण प्रधान र डा. खिमलाल देवकोटा लगायतलाई समावेश गरिएको छ। पार्टी एकीकरणपछि चैत १९ देखि वैशाख १४ सम्म चलेको लामो बैठकले पार्टीको अन्तरिम विधान–२०८२ बमोजिम केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ