सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा सर्पदंश उपचार सेवा विस्तार गरिँदै
२०३० सम्म मृत्युदर ५० प्रतिशत घटाउने लक्ष्य
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
351
Shares
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका सर्पदंशको उच्च जोखिम रहेका ग्रामीण तथा दुर्गम क्षेत्रमा उपचार सेवा विस्तार गरिने भएको छ। सन् २०३० सम्ममा सर्पदंशबाट हुने मृत्युदर र अपाङ्गतालाई ५० प्रतिशतले घटाउने सरकारको राष्ट्रिय लक्ष्यअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो योजना अघि बढाएको हो।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमका अनुसार ग्रामीण भेगका नागरिकलाई समयमै उपचार सुनिश्चित गर्न डडेल्धुराको जोगबुडा अस्पताल, बैतडीको पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, दार्चुलाको गोकुलेश्वर अस्पताल, बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्र र बाजुराको कोल्टी आधारभूत अस्पतालमा सेवा विस्तार गर्न लागिएको छ।
उपचार सेवालाई प्रभावकारी बनाउन आकस्मिक विभागमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई दुईदिने विशेष तालिम दिएर दक्ष बनाइएको छ। जिल्ला सदरमुकामका अस्पतालहरूमा यो सेवा पहिलेदेखि नै सञ्चालनमा रहे पनि दुर्गम क्षेत्रमा उपचारको अभावले बिरामीले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य गर्न यो कदम चालिएको निर्देशक बमले बताए।
सुदूरपश्चिममा सर्पदंश उपचारमा नेपाली सेनाको भूमिका पनि प्रशंसनीय छ। कैलालीको बडैपुर र कञ्चनपुरको अर्जुनीमा सेनाले सञ्चालन गरेका उपचार केन्द्रहरूबाट नागरिकले प्रभावकारी सेवा पाइरहेका छन्। महाकाली प्रादेशिक अस्पतालमा विगत पाँच वर्षदेखि सर्पदंशका कारण हुने मृत्युदर शून्य रहेको अस्पतालका निवर्तमान मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले जानकारी दिए। पछिल्लो छ महिनामा मात्रै त्यहाँ आएका ३२ जना विषालु सर्पले टोकेका बिरामीको सफलतापूर्वक उपचार गरिएको छ।
निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले जनचेतनाको कमी, झारफुकमा अल्झिने प्रवृत्ति र भौगोलिक विकटता मुख्य चुनौती रहेको औँल्याए। उनले भौगोलिक कठिनाइका कारण एम्बुलेन्स ढिलो हुन सक्ने अवस्थामा मोटरसाइकलमार्फत बिरामीलाई छिटो अस्पताल पुर्याउनु बढी प्रभावकारी हुने सुझाव दिए।
जोशीले पारिस्थितिक प्रणाली सन्तुलनका लागि सर्पको महत्त्व रहेको उल्लेख गर्दै सर्प मार्नुभन्दा टोकाइबाट बच्ने उपाय अपनाउनु बुद्धिमानी हुने बताए। सरकारले लिएको लक्ष्य हासिल गर्न स्थानीय तहमा स्वास्थ्य पूर्वाधार, ‘एन्टिस्नेक भेनम’को सहज उपलब्धता र स्वास्थ्यकर्मीको निरन्तर क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ।