भन्सारमा कडाइ गरेपछि भद्रपुर बजारमा चहलपहल बढ्यो, गलगलिया सुनसान
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
408
Shares
काठमाडौँ । नेपाल सरकारले सीमावर्ती भन्सार नाकामा कडाइ गरेसँगै देशकै पुरानो सहर भद्रपुरको व्यापारिक चहलपहल बढ्न थालेको छ। लामो समयदेखि भारतीय बजारमा निर्भर रहेका उपभोक्ता र व्यापारीहरू स्वदेशी बजारतर्फ फर्किन थालेपछि भद्रपुरका व्यवसायीहरूमा उत्साह पलाएको छ।
भारतबाट रु. १०० भन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम कडाइका साथ लागू भएपछि उपभोक्ताहरू किनमेलका लागि सीमापारिको गलगलिया बजार जान छाडेका हुन्। यसअघि दैनिक उपभोग्य सामग्री र लत्ताकपडाका लागि गलगलिया प्रमुख केन्द्र रहे पनि अहिले भद्रपुरकै पसलहरूमा ग्राहकको भीड बढ्न थालेको छ।
भद्रपुर–६ स्थित ‘रवि वस्त्रालय’का सञ्चालक रवि गुप्ताले विगतका तुलनामा व्यापार ३० देखि ४० प्रतिशतले वृद्धि भएको बताए। उनले व्यापार सुस्त भएर विकल्प खोज्नुपर्ने अवस्था आइसकेको बेला पछिल्लो केही दिनको चहलपहलले नयाँ आशा जगाएको उल्लेख गरे। यस्तै, ‘राजेश स्टोर’का सञ्चालक शत्रुधन प्रसादले पनि बजारमा सकारात्मक सङ्केत देखिएको तर यसको स्थायित्वका लागि भन्सारको कडाइ निरन्तर हुनुपर्नेमा जोड दिए।
पुराना पत्रकार देवेन्द्रकिशोर ढुङ्गानाका अनुसार वि.सं. २०३४ सम्म भद्रपुरमा झापाको प्रमुख भन्सार कार्यालय रहँदा यो क्षेत्र निकै चर्चित थियो। पछि काँकडभिट्टामा भन्सार सरेपछि भद्रपुरको चमक घटे पनि हालको कडाइले केही हदसम्म पुरानो रौनक फर्काउने आशा पलाएको उनले बताए।
नेपाली ग्राहकहरू कम भएपछि भारतको गलगलिया क्षेत्रको व्यापारमा ठुलो गिरावट आएको छ। त्यहाँका किराना व्यवसायी प्रदीप घोषले मुख्य ग्राहक नेपाली नै भएकाले उनीहरू आउन छाडेपछि व्यापार ६० देखि ७० प्रतिशतले घटेको गुनासो गरे। यद्यपि, केही भारतीय व्यापारीहरूले भने घरायसी प्रयोजनका लागि सानो परिमाणमा सामान ल्याउन छुट दिइएकाले ग्राहकहरू पुनः देखिन थालेको बताएका छन्।
भद्रपुर भन्सार कार्यालयका सूचना अधिकारी प्रेमबहादुर लामाले सीमामा मानिसको आवागमन घटेपछि राजस्व सङ्कलनमा प्रत्यक्ष असर परेको जानकारी दिए। तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख १९ गतेसम्ममा यस नाकाबाट रु. १३ करोड ४३ लाख ७९ हजार राजस्व सङ्कलन भएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ गणका प्रहरी नायब उपरीक्षक शङ्कर शाहले सुरक्षा निकायले सीमामा निगरानी बढाएको र व्यापारिक प्रयोजनका सामानलाई भन्सार तिराएर मात्र भित्रिन दिइएको बताए। खुला सीमाका कारण पूर्ण नियन्त्रण चुनौतीपूर्ण भए पनि अवैध चोरी निकासी रोक्न सशस्त्र प्रहरी निरन्तर सक्रिय रहेको उनले स्पष्ट पारे।
सरकारले अपनाएको यो कडाइ प्रभावकारी र निरन्तर रहेमा भद्रपुरजस्ता ऐतिहासिक बजारहरू पुनर्जीवित हुने सम्भावना प्रबल देखिएको छ।