जुस-आइसक्रिमको प्रलोभनमा बालिकाको सुन लुट्ने महिला पक्राउ, १८ मुद्दाकी ‘पुरानी अपराधी’ सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
390
Shares
पोखरा। बालबालिकाहरूलाई ललाईफकाई गरी कानको मुन्द्रा चोरी गर्ने महिलालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका वडा नं ३ स्थायी घर भई हाल पोखरा वडा नं १० रामबजार बस्ने २५ वर्षीया अम्बिका पुलामी मगर रहेकी छिन् ।
उनले गत वैशाख ६ गते साँझ पोखरा महानगरपालिका वडा नं २५ हेम्जा रामचोकमा अन्दाजी छ वर्षीया एक बालिकाको मुद्रा चोरी गरेकी थिइन् ।
अपरिचित अम्बिकाले तिम्रो ममीको साथी हुँ भनी फकाउने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
उनले बालिकालाई जुस र आइसक्रिम खुवाउने प्रलोभन देखाएर एकान्तमा पुर्याएर कानमा लगाएको करिब एक लाख रुपैयाँ बराबरको सुनको मुन्द्रा (१४, १४ लाल) लुटेर फरार भएकी थिइन् ।
बालिकाका आफन्तले जाहेरी दिएपछि प्रहरीले घटनास्थल वरपरको फुटेज अध्ययन गरेको थियो । फुटेजमा पहेँलो रङको रेनकोट लगाएकी महिलाले ग२५प ३५८४ नम्बरको स्कुटरमा बालिकालाई लिएर गएको देखिएको थियो ।
अनुसन्धानका क्रममा उक्त स्कुटर भाडामा लिइएको खुलेपछि प्रहरीले खोजतलास तीव्र पारेको थियो । अन्ततः वैशाख १७ गते पोखरा वडा नं ९ महेन्द्रपुलबाट अम्बिकालाई प्रहरीले नियन्त्रणमा लिन सफल भयो ।
प्रहरीको चेक गर्दा पक्राउ परेकी अम्बिका पुलामी मगर पुराना पटके अपराधी भएको खुलेको छ ।
उनी विरुद्ध यसअघि नै कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी १८ ओटा फरक फरक मुद्दामा कैद र जरिवानाको फैसला भइसकेको देखिएको डिएसपी बस्नेतले जानकारी दिए ।
उनीबिरुद्ध ०७९ असार ८ मा १० ओटा मुद्दामा जनही दुई वर्ष कैद र २० हजार जरिवाना, २०७९ असार २२ गते अन्य आठ ओटा मुद्दामा छ महिनादेखि एक वर्ष छ महिनासम्मको कैद सजाय भएको अदालतको अभिलेखमा देखिएको छ ।
हाल उनलाई चोरी तथा डाँकासम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको डीएसपी बस्नेतले जानकारी दिए ।
उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।