arrow

दक्षिणी थाइल्यान्डमा सशस्त्र द्वन्द्वःएक बालकसहित चारको मृत्यु

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
Thailand_South.jpeg
बैंकक। थाइल्यान्डको दक्षिणी भागमा पर्ने द्वन्द्वग्रस्त क्षेत्रमा बिहीबार एक विद्यालयका विद्यार्थी, उनका पिता, माता र अन्य एकजना आफन्तको हत्या गरिएको छ । 
 
आफ्ना आठ वर्षीय छोरालाई नाराथिवात प्रान्तको एउटा विद्यालयमा पु¥याउन जान एउटा पिक–अप ट्रक हाँकिरहेका स्थानीय एक गाउँका उपप्रमुख, उनकी पत्नी र सालीसमेत चारजना सशस्त्र बिद्रोहीहरुले थापेको बिद्युतीय धराप (एम्बुस) बिस्फोटनमा परी मृत्यु भएको प्रहरी तथा सैनिक स्रोतले जानकारी दिएको छ । 
 
उनीहरु चढेको गाडीमा अन्य दुई जना पनि रहेकामा यी दुई जना भने त्यस आक्रमणबाट बच्न सफल भएका छन् । एम्बुसमा पर्नुअघि उक्त गाडीलाई दुइजना सशस्त्र बिद्रोहीले अन्धाधुन्द गोली प्रहार गरेका थिए । 
 
बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको दक्षिणी थाइल्यान्डको नाराथिवात प्रान्तमा एक दशकभन्दा बढी समययता सशस्त्र द्वन्द्व जारी रहेको छ । त्यहाँ मलेसियाली मूलका मुस्लिम विद्रोहीले द्वन्द्व मच्चाउँदै आएका छन् । 
 
यस्तो सशस्त्र आक्रमण र द्वन्द्वमा परी हालसम्म बौद्ध र मुस्लिम धर्मावलम्बी दुबै पक्षका कम्तीमा छ हजार आठ सयको मृत्यु भइसकेको छ । यसमध्ये बढी सङ्ख्यामा सर्व साधारण निर्दोष नागरिक परेका छन् । 
 
सशस्त्र द्वन्द्वमा होमिएका दुवै पक्षले एक अर्कालाई मानवअधिकार उल्लङ्घन वा दुरुपयोग गरेको दोषारोपण गर्दै आइरहेका छन् । 
 
यस द्वन्द्वमा मलाया–मुस्लिम विद्रोहीहरुले थाई सुरक्षाकर्मी, स्थानीय अधिकारी, विद्यालयका शिक्षक तथा राज्यसँग आवद्ध अन्य निकायमा कार्यरत कर्मचारी वा नेताहरुलाई आफ्नो निरन्तर निशाना बनाउँदै आएका छन् । 
 
थाइल्यान्डमा थुप्रै सानातिना बिद्रोही समूहका अतिरिक्त बिआरएन फ्याक्सन नामक एउटा शक्तिशाली सशस्त्र बिद्रोही सङ्गठनको अस्तित्व रहेको छ । 
 
बिआरएनको समर्थन बिना कुनै पनि बिद्रोही समूहले थाइल्याण्डको कुनै पनि कुनामा हतियार उठाउने वा सशस्त्र द्वन्द्व मच्चाउने हिम्मत गर्न नसक्ने बिचार यहाँका राजनीतिक चिन्तक तथा बिश्लेषकको रहेको छ । 
 
मलाया–मुस्लिम विद्रोहीले पनि बिआरएन कै आशीर्वाद पाएको अनुमान गरिएको छ । बिआरएन समूह र सत्तारुढ सैनिक जुन्ता सरकारबीच धेरै पटक शान्ति वार्ता र सम्झौता भए तापनि यस्ता वार्ता र सम्झौता प्रभावकारी भएका छैनन् । 
 
विगतका धेरै वर्षदेखि थाइल्याण्डमा राजनीतिक अस्थिरताले निरन्तर जरो गाड्दै आइरहेको छ । तत्कालीन निर्वाचित सरकारलाई सन् २०१४ मा सैनिक बिद्रोहद्वारा जबर्जस्ती अपदस्थ गरी सत्ता हातमा लिएको सैनिक जुन्ता सरकार थाइल्यान्डका सशस्त्र बिद्रोहीलाई नियन्त्रण गरी देशमा शान्ति तथा सुब्यवस्था बहाली गर्न असफल रहेको बताइन्छ । रासस÷एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ