वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्गहरू अवरुद्ध
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २२ मंगलबार
327
Shares
काठमाडौँ । केही दिनयता जारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा देशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार सोमबार राति इलामको रोङ गाउँपालिका–६ सलकपुर स्थित भित्री कच्ची सडकखण्डका साथै काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका–७ घुमाउने तथा चारसयबेँसीस्थित बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी केही दिनअघिदेखि अवरुद्ध रहेका केही सडक खण्डहरू भने अहिले एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।
वैशाख १२ गतेको बाढीले अवरुद्ध पारेको भोजपुर नगरपालिका–५ बोखिमको मध्यपहाडी लोकमार्ग, १६ गतेको पहिराले रोकिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड र लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङस्थित मध्यपहाडी लोकमार्ग अहिले एकतर्फी रूपमा खुलेका छन्।
वर्षात्को समयमा बाढी र पहिरोको जोखिम उच्च रहने भएकाले अवरुद्ध वा एकतर्फी सञ्चालन भएका राजमार्गहरूमा यात्रा गर्दा पूर्ण सावधानी र सतर्कता अपनाउन प्रहरीले सबैमा आग्रह गरेको छ।