काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगरस्थित होटल गौतमबुद्ध इन्टरनेसनलभित्र सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा अवैध रूपमा जुवा खेलिरहेका १९ जना नेपाली नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा गए राति उक्त क्यासिनोमा छापा मारेको थियो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्नेहरूमा क्यासिनो व्यवस्थापनमा संलग्न चार जना र जुवा खेलिरहेका १५ जना रहेका छन्।
पक्राउ परेका व्यक्तिहरू रुपन्देही क्षेत्रका साथै विभिन्न जिल्लाका रहेका छन्। प्रहरीले घटनास्थलबाट ९५ हजार ५०० रुपैयाँ नगद, १७ थान मोबाइल र ५० थान क्यासिनो क्वाइन समेत बरामद गरेको छ।
नियन्त्रणमा लिइएका सबैमाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।