वर्षा र हावाहुरीले सुधारियो काठमाडौँको वायु गुणस्तर
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २३ बुधबार
308
Shares
काठमाडौँ । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ। एयर क्वालिटी इन्डेक्स (एक्युआइ) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११:०० बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७ मा झरेको छ, जसलाई स्वास्थ्यका हिसाबले ‘राम्रो’ श्रेणीमा मानिन्छ। केही साताअघि मात्र विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रहेको काठमाडौँ हाल सुधार हुँदै ६६औँ स्थानमा पुगेको छ।
एक्युआई मापदण्डअनुसार ० देखि ५० सम्मको सूचकाङ्कलाई ‘राम्रो’ मानिने गरिन्छ। गत वैशाख १० गते उपत्यकाको यो सूचकाङ्क २४७ सम्म पुगेर ‘धेरै अस्वस्थ’ श्रेणीमा परेको थियो, जसले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याएको थियो। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार सुक्खा मौसम, वन डढेलो र छिमेकी मुलुक भारतबाट आउने प्रदूषित हावाका कारण उपत्यकामा प्रदूषण थुप्रिने गर्दछ।
वर्षासँगै वायुमण्डलमा रहेको धुलो र धुवाँ पखालिएकाले गुणस्तरमा सुधार आएको हो। हालको यो सुधारले उपत्यकावासीलाई राहत दिएको भए तापनि वातावरण विज्ञहरूले प्रदूषण नियन्त्रणका लागि दिगो र स्थायी उपायहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।