यार्सागुम्बा टिप्न गएका २५ जनालाई प्रहरीले लियो नियन्त्रणमा
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
373
Shares
काठमाडौँ । मुगु जिल्लाको मुगमकामारोङ गाउँपालिकास्थित विभिन्न पाटनहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा लुकीछिपी टिप्न गएका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार पक्राउ पर्नेहरूमा जुम्ला जिल्ला पातारासी गाउँपालिकाका वडा नं १ र २ का एक बालिकासहित २४ जना रहेका छन्।
प्रहरी नायव उपरीक्षक रविराज थपलियाले विना अनुमति पाटन वन क्षेत्रमा प्रवेश गर्ने व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जानकारी दिएका छन्।
विगतका वर्षहरूमा यसरी अनधिकृत रूपमा प्रवेश गर्नेहरूलाई सम्झाई-बुझाई घर फर्काउने गरिए पनि यस पटक भने नियन्त्रणमा राखेर बयान लिने र हाजिरी जमानीमा मात्र छोडिने तयारी गरिएको छ। मुगमकामारोङ गाउँपालिकाले हालसम्म यार्सागुम्बा सङ्कलनका लागि आधिकारिक रूपमा पाटनहरू खुला गर्ने सूचना जारी गरेको छैन।
सङ्कलनको समय नजिकिँदै गर्दा मुगुका यार्सापाटनहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ र गाउँपालिकाले आधिकारिक रूपमा पाटन नखुल्दै चोरीका लागि प्रवेश नगर्न आग्रह समेत गरेको छ। मुगुका दुई दर्जनभन्दा बढी पाटनहरूमा पाइने यो बहुमूल्य जडीबुटी यहाँका दुर्गम भेगका जनताको प्रमुख आर्थिक स्रोत हो, जसको बिक्रीबाट उनीहरू वर्षभरिको पारिवारिक खर्च जुटाउने गर्दछन्।