arrow

मौसम पूर्वानुमानलाई वैज्ञानिक र अत्याधुनिक बनाउन सरकार लागिपरेको छ: मन्त्री श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
birajbhakta-25.jpg

काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जल तथा मौसम पूर्वानुमान र जलवायु विश्लेषण सेवालाई थप वैज्ञानिक र परिष्कृत बनाउन सरकार लागिपरेको बताए। शुक्रबार ललितपुरमा जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको 'मनसुन फोरम' कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो धारणा राखे।

मन्त्री श्रेष्ठले जल तथा मौसम सेवाको गुणस्तर सुधारका लागि अवलोकन केन्द्रहरूको राष्ट्रिय सञ्जाल विस्तार, दिगो व्यवस्थापन र अत्याधुनिक प्रविधिको प्रयोगमार्फत प्रभावकारी पूर्वानुमान प्रणाली विकास गर्न आवश्यक रहेको उल्लेख गरे। उनले जल तथा मौसमसम्बन्धी अध्ययन अनुसन्धानलाई प्राथमिकतामा राख्दै स्थानविशेष पूर्वानुमान प्रणाली सञ्चालन गर्न लगानी बढाउनुपर्नेमा जोड दिए। पूर्वसूचना प्रणालीलाई नवीन प्रविधिसँग जोड्दै सबै नागरिकको पहुँचमा पुर्‍याउन वित्तीय स्रोत परिचालन गरिने समेत उनले जानकारी दिए।

जल तथा मौसम सेवाको दायरालाई विपद् व्यवस्थापनमा मात्र सीमित नराखी पर्यटन, स्वास्थ्य, भौतिक पूर्वाधार तथा जलस्रोत व्यवस्थापन जस्ता विकासका क्षेत्रसँग जोड्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ। उनले भने, "हाम्रो मन्त्रालयले जल तथा मौसम सेवा विस्तारका लागि थप वित्तीय स्रोत परिचालन गर्न तत्परता देखाएको छ। जलवायु परिवर्तनका कारण मौसम प्रणाली कतातिर परिवर्तन भइरहेको छ भन्नेबारे वैज्ञानिक खोज हुनुपर्छ।"

मन्त्री श्रेष्ठले जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नु सरकारको प्राथमिकतामा रहेको बताउँदै त्यसका लागि नेपालले आफ्नो आन्तरिक स्रोत र अनुसन्धान क्षमतालाई पनि बलियो बनाउनुपर्ने बताए। विभागलाई 'सम्भावनाको विज्ञान' का रूपमा अर्थ्याउँदै उनले प्रविधिको उच्चतम प्रयोग गरी परिमाणात्मक स्थान विशेष पूर्वानुमान जारी गर्न लगानी बढाइने स्पष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ