सुदूरपश्चिममा अहिलेकै सत्ता गठबन्धन कायम रहन्छ: सहमहामन्त्री रसाइली
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
540
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले सुदूरपश्चिम प्रदेशमा अहिलेको सत्ता गठबन्धन कायम रहने बताएका छन्। शनिबारदेखि धनगढीमा सुरु हुने कांग्रेसको प्रदेश स्तरीय चुनावी समीक्षा कार्यक्रमबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले तत्काल सरकार परिवर्तन नहुने र गठबन्धनमा कुनै हेरफेर नहुने स्पष्ट पारे।
रसाइलीले मुख्यमन्त्री फेर्ने विषयमा पार्टीभित्र हालसम्म कुनै छलफल नभएको समेत बताए। कांग्रेसले आयोजना गर्न लागेको यो समीक्षा कार्यक्रममा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरूको सहभागिता रहनेछ। कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट फागुन २१ गते सम्पन्न निर्वाचनमा विजयी तथा पराजित उम्मेदवार, प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी हुने रसाइलीले जानकारी दिए।
उनका अनुसार समीक्षा कार्यक्रम लगत्तै आगामी सोमबार कांग्रेसले प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम समेत आयोजना गर्ने तय भएको छ। यस कार्यक्रमले आगामी राजनीतिक रणनीति र पार्टीको आन्तरिक सुदृढीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।