प्रधानन्यायाधीश सिफारिसविरुद्ध उजुरी आह्वान, सबै जिल्ला प्रशासनमार्फत पठाउन सकिने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
498
Shares
काठमाडौँ। सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध आगामी जेठ ४ गतेसम्म उजुरी दिन सकिने निर्णय गरेको छ ।
शुक्रबार बसेको समितिको बैठकले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशका लागि सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउँदै उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
समितिका सभापति बोधनारायण श्रेष्ठले संवैधानिक परिषद्बाट सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि शर्माको नाम २०८३ चैत २५ गते समितिमा प्राप्त भएको जानकारी दिए । त्यसपछि समितिले १० दिनको समयसीमा निर्धारण गर्दै जेठ ४ गतेसम्म उजुरी संकलन गर्ने निर्णय गरेको उनले बताए ।
उनले भने, “संवैधानिक परिषद्बाट हामीलाई सर्वोच्च अदालतको प्रधान न्यायाधीशका लागि डा. मनोज कुमार शर्माको नाम प्रस्ताव गरी यस समिति समक्ष २०८३ चैत २५ गते प्राप्त भयो । त्यसपछि हामीले आज बैठक आयोजना गर्यौँ । यो बैठकबाट हामीले १० दिनको समय राखेर जेठ ४ गतेसम्म उहाँविरुद्ध उजुरी संकलन गर्ने अवधि तोकेका छौँ ।”
उनका अनुसार समितिको सचिवालयमा सिधै उजुरी बुझाउन सकिनेछ भने विद्युतीय माध्यमबाट पनि पठाउन सकिने व्यवस्था गरिएको छ ।
साथै खामबन्दी गरेर सिंहदरबारमा पठाउन सकिने र ७७ ओटै जिल्ला प्रशासन कार्यालयमार्फत पनि उजुरी पठाउन सकिने व्यवस्था गरिएको उनले जानकारी दिए ।
सभापति श्रेष्ठले नाम उल्लेख गरेर वा बेनाम दुवै प्रकारले उजुरी दिन सकिने उल्लेख गर्दै प्रमाणसहित उजुरी पठाउन आग्रह गरिएको बताए ।
उनले भने, “यो बीचमा हाम्रो सचिवालयमा सिधै उजुरी उपलब्ध गराउन सकिनेछ। विद्युतीय माध्यमबाट पनि उजुरी पठाउन सकिनेछ । खामबन्दी गरेर अरु पत्र पठाएजस्तै सिंहदरबारमा उपलब्ध गराउन सकिनेछ। साथै ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट पनि पठाउन सकिन्छ। यो नाम किटान गरेर पनि र बेनाम पनि पठाउन सकिन्छ । हामीले विशेषगरी प्रमाणसहित उजुरी पठाउन आग्रह गरेका छौँ ।”
समितिले जेठ ५ गते पुनः बैठक बोलाएको छ। उक्त बैठकमा प्राप्त उजुरीहरूको अध्ययन गरी सदस्यहरूलाई वितरण गरिनेछ । त्यसपछि सुनुवाइ प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा प्रक्रियागत निर्णय गरिने समितिले जनाएको छ।