झापाको बाहुनडाँगीमा हात्तीको आतङ्क, रातभर जाग्राम बस्छन् स्थानीय
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २७ आइतबार
413
Shares
काठमाडौँ । भारतबाट प्रत्येक रात हात्तीको ठुलो बथान आएर पाकेको बाली नष्ट गर्न थालेपछि झापाको मेचीनगरस्थित बाहुनडाँगीलगायत सीमा क्षेत्रका बासिन्दामा गहिरो त्रास फैलिएको छ। मेचीनगर नगरपालिकाका १, ४ र ५ नम्बर वडाका बाहुनडाँगी क्षेत्रमा एक सातायता दिनहुँ ३० देखि ४० को सङ्ख्यामा भारतीय जङ्गलबाट प्रवेश गर्ने हात्तीले किसानको मकै र सुपारीलगायतका बालीमा व्यापक क्षति पुर्याइरहेका छन्।
भारतको आसामबाट आएका करिब १०० को सङ्ख्यामा रहेका हात्तीहरू दिनभर सीमापारिको जङ्गलमा बस्ने र रात परेपछि साना समूहमा विभाजित भई नेपाल प्रवेश गर्ने गरेका छन्। हात्तीको यो बथानले पाक्न लागेको मकैबाली सखाप पार्नुका साथै सुपारीका बोटहरू भाँचेर सोत्तर पारेको छ भने पछिल्ला केही महिनामा तीन जनालाई आक्रमण गरी घाइते बनाउनुका साथै १५ वटा घरमा क्षति पुर्याइसकेको छ।
बढ्दो जोखिमलाई मध्यनजर गर्दै प्रवेश नाकामा हात्ती रोक्न र जनधनको सुरक्षा गर्न सर्वपक्षीय बैठकले सुरक्षाकर्मी, वन रक्षक र रेपिड रेस्पोन्स टिमको संयुक्त टोली परिचालन गर्ने निर्णय गरेको छ। वडाध्यक्ष अर्जुन कार्कीका अनुसार बैठकले भारतीय वन अधिकारी र सरकारी निकायसँग हात्ती नियन्त्रणका लागि छलफल गर्ने, साँझ ६ बजेपछि नाकाहरूमा सर्वसाधारणको आवतजावतमा रोक लगाउने र हात्ती खेदाउन ट्रयाक्टरको प्रयोग गर्ने निर्णय गरेको छ।
नगरपालिकाले ट्रयाक्टरका लागि आवश्यक इन्धन उपलब्ध गराउने भएको छ भने रातको समयमा हिँडडुल नगर्न सर्वसाधारणलाई माइकिङ गरी सचेत गराउने कार्य भइरहेको छ। यस्तै, बस्ती वरिपरि मौसमी तारबार लगाउने योजना समेत अघि सारिएको छ।
हात्तीको प्रवेश रोक्न बाहुनडाँगीको १८ किलोमिटर सीमा क्षेत्रमा जडान गरिएको सौर्य तारबारको मर्मतसम्भार प्रक्रिया पनि अघि बढाइएको छ। मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीका अनुसार करिब १० वर्षअघि जडान गरिएको उक्त तारबारका अधिकांश ब्याट्रीहरू फेर्नुपर्ने अवस्थामा छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय र मेचीनगर नगरपालिकाको ३० लाख रुपैयाँ बजेटबाट यसको मर्मत गरिने तयारी छ।
मञ्चका पूर्वअध्यक्ष निरज घिमिरेले बाली पाक्ने बेलामा भारतबाट सयौँको हुलमा आउने हात्तीका कारण बर्सेनि हुने क्षति रोक्न भारत सरकारको सम्बद्ध निकायसँग उच्चस्तरीय वार्ता गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। स्थानीय बासिन्दाले भने सीमामा जडान गरिएका ब्याट्रीहरू चोरी हुने समस्या रहेको भन्दै नयाँ ब्याट्री जडान र दिगो सुरक्षाको माग गरेका छन्।