arrow

सिरहा गोली प्रहार घटनाको रहस्य खुल्यो

पारिवारिक रिसइबीमा सुटर प्रयोग, दुई योजनाकार पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
siraha-case.jpg

काठमाडौँ ।  सिरहामा भएका दुई छुट्टाछुट्टै गोली प्रहारका घटनामा भारतीय सुटरको प्रयोग गरिएको सनसनीपूर्ण तथ्य प्रहरीले सार्वजनिक गरेको छ। लामो समयको सुक्ष्म अनुसन्धानपछि दुवै घटनाको मुख्य कारण 'पारिवारिक रिसइबी' रहेको र हत्याका लागि सुपारी (पैसा) दिइएको खुलासा भएको हो।

गत माघ १६ गते सिरहा नगरपालिका–७ मा ४२ वर्षीय प्रेमनाथ यादवको गोली हानी हत्या गरिएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१ का ५२ वर्षीय उपेन्द्र यादवलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार उपेन्द्रले पुरानो पारिवारिक विवादको बदला लिन भारतीय सुटरसँग ३ लाख रुपैयाँमा सम्झौता गरी हत्या गराएका थिए। हत्याका लागि १ लाख रुपैयाँ पेस्की दिएको र बाँकी २ लाख काम भएपछि दिने सर्त रहेको अनुसन्धानबाट खुलेको छ। उपेन्द्रमाथि अहिले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ।

यसैगरी, माघ ४ गते औरही गाउँपालिका–५ का श्यामसुन्दर शर्मामाथि भएको गोली प्रहारमा पनि भारतीय सुटरकै संलग्नता भेटिएको छ। गाउँकै जितिया मन्दिरमा सुतिरहेका बेला झ्यालबाट गोली प्रहार गरिएका शर्माको टाउकोमा चोट लागेको थियो।

अनुसन्धानका क्रममा स्थानीय ५५ वर्षीय हरि ठाकुरले ५० हजार रुपैयाँ सुपारी दिएर शर्माको ज्यान लिने प्रयास गरेको खुलेको छ। ठाकुरले पनि पारिवारिक रिसइबीकै कारण सो कदम चालेको प्रहरीको दाबी छ। घाइते शर्माको विराटनगरमा उपचारपछि स्वास्थ्य अवस्था सामान्य छ।

सिरहाका प्रहरी प्रमुख एसपी बासुदेव पाठकका अनुसार दुवै घटनामा संलग्न भारतीय सुटर र उनीहरूलाई नेपाली योजनाकारसँग सम्पर्क गराउने अन्य व्यक्तिहरूको पहिचान भइसकेको छ। अहिले प्रहरीले उनीहरूको खोजी कार्यलाई सीमावर्ती क्षेत्र र भारततर्फ पनि तीव्र बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ