arrow

एसईई : एक महिनामै नतिजा, परिणाम पनि सुधारोन्मुख

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
see-82-3-13r.jpg

काठमाडौँ ।  छिटो नतिजा आउँदा प्रणालीमै समस्या देखिन सक्ने आशंका र चुनौतीका बीच माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा परीक्षा सम्पन्न भएको एक महिनामै सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले पूर्वनिर्धारित कार्यतालिका पालना गर्दै नतिजा प्रकाशन गरेपछि शैक्षिक पात्रो कार्यान्वयनमा नयाँ सरकारप्रति विश्वास पलाएको छ। यसपटक नतिजा छिटो मात्र आएन, उत्तीर्ण हुने विद्यार्थीको संख्यामा पनि विगतका तुलनामा उल्लेख्य सुधार देखिएको छ।

सार्वजनिक नतिजाअनुसार ६५.९८ प्रतिशत अर्थात् २ लाख ८४ हजार १६० विद्यार्थी सफल भएका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थी 'ननग्रेडेड' भएका छन्। ननग्रेडेड भएका विद्यार्थीले पुनः ग्रेडवृद्धि परीक्षामा सामेल हुने अवसर पाउनेछन्। गत वर्ष ६१.८१ प्रतिशत र २०८० सालमा ४७.८७ प्रतिशत विद्यार्थी मात्र सफल भएको पृष्ठभूमिमा यस वर्षको नतिजालाई शिक्षाविद्हरूले सकारात्मक रूपमा लिएका छन्। परीक्षालाई व्यवस्थित बनाउन जारी गरिएको नयाँ निर्देशिका र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको सक्रिय निर्देशनले यो उपलब्धि सम्भव भएको हो।

शिक्षाविद् प्रा. डा. मनप्रसाद वाग्लेका अनुसार तोकिएको समयमै नतिजा आउनुमा उत्तरपुस्तिका परीक्षणमा खटिएका शिक्षकहरूको लगाव र उनीहरूमाथिको विश्वास मुख्य कारण हो। उत्तरपुस्तिका परीक्षणमा शिक्षकबाहेक अन्य विज्ञ नहुने भएकाले राज्यले उनीहरूमाथि गरेको भरोसाको प्रतिफल नै यो नतिजा भएको उनी विश्लेषण गर्छन्। बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले पनि जनशक्ति थप र नयाँ निर्देशिकाको कडा कार्यान्वयनका कारण विगतमा जस्तो उत्तरपुस्तिका पोको पारेर राख्ने झन्झट हटेको र तत्काल परीक्षण गरी प्राप्ताङ्क प्रविष्ट गर्ने प्रणाली विकास गरिएको जानकारी दिए।

यस वर्षको नतिजा प्रकाशनमा पारदर्शिता र मर्यादा कायम गर्न विशेष सावधानी अपनाइएको थियो। परीक्षण केन्द्रहरूमा सिसीटिभी जडान, मोबाइल निषेध र उत्तरपुस्तिका परीक्षणमा लापरवाही गर्नेलाई कारबाहीको व्यवस्था गरिएको थियो। नेपाल शिक्षक महासङ्घले पनि सरकारको सुधार अभियानमा शिक्षकहरूको निरन्तर साथ रहेको बताएको छ। संविधानअनुसार विद्यालय शिक्षाको संरचना परिवर्तन भइरहेको र कक्षा १० को परीक्षा प्रदेश मातहत लैजाने तयारी भइरहेको सन्दर्भमा यो वर्षको चुस्त व्यवस्थापनले आगामी शैक्षिक सुधारका लागि बलियो आधार खडा गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ