arrow

मुगुमा जेठ १३ देखि यार्सा संकलन खुला हुने, संकलकलाई तोकियो शुल्क

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३० बुधबार
yarsa-niyantran.jpg

काठमाडौँ । मुगुको मुगुम कार्मारोङ गाउँपालिकाभित्र रहेका विभिन्न पाटन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि आगामी जेठ १३ गतेदेखि एक महिनासम्मका लागि पाटन खुला गरिने भएको छ। गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले जेठ १३ गतेदेखि संकलन खुला गर्ने निर्णय गर्दै जिल्ला बाहिरबाट आउने व्यक्तिका लागि प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ र जिल्लाभित्रका बासिन्दाका लागि २ हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरेको छ। 

गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले निर्धारित प्रवेश शुल्क नतिरी लुकीछिपी यार्सा संकलन गर्ने जो-कोहीलाई पनि कडा कारबाही गरिने चेतावनी दिएका छन्।

सामान्यतया चैत महिनादेखि पाटन क्षेत्रमा यार्सा उम्रिन सुरु हुने भए पनि जेठ महिनाबाट मात्र स्थानीयवासीले संकलन गर्ने प्रचलन रहेको छ। संकलनका क्रममा वातावरणीय सन्तुलन कायम राख्न गाउँपालिकाले विशेष आग्रह गर्दै संकलन क्षेत्रमा सिसा तथा प्लास्टिकजन्य वस्तु नफाल्न र जथाभावी रुखबिरुवा नकाट्न सचेत गराएको छ। 

आधिकारिक सूचना जारी हुनुअघि नै यार्सा चोरी गर्न पाटन पुगेका २५ जनालाई वैशाख २४ गते नै सुरक्षाकर्मीले नियन्त्रणमा लिइसकेकाले गाउँपालिकाले यस विषयमा थप कडाइ गरेको छ।

यार्सा संकलन अवधिमा हुनसक्ने चोरी, डकैती तथा लुटपाट जस्ता आपराधिक क्रियाकलाप नियन्त्रणका लागि पाटन क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिनेछ भने संकलकहरूको सहजताका लागि स्वास्थ्यकर्मीसमेत खटाइने भएको छ। गाउँपालिकाअन्तर्गतका सानो कोइकी, ठूलो कोइकी, रिमार, टाके, हाङदाङखोला र छापाखोला लगायत दुई दर्जनभन्दा बढी पाटनहरूमा प्रशस्त मात्रामा यार्सा पाइने गर्दछ। 

यस सिजनमा कर्णालीका १० वटै जिल्लाका साथै बाजुरा, अछाम, बझाङ, पोखरा, मनाङ, मुस्ताङ र सिन्धुपाल्चोक लगायतका क्षेत्रबाट सर्वसाधारण पाटन पुग्ने गर्छन् भने यार्सा खरिदका लागि काठमाडौँ, पोखरा, बझाङ र डोल्पाबाट व्यापारीहरू समेत सो क्षेत्रमा पुग्ने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ