arrow

छानबिन समिति गठन

मध्यरातको रहस्यमय पारिवारिक खटपटले निम्त्यायो प्रहरी र वडाध्यक्षबीच विवाद

सामान्य पारिवारिक विवाद मिलाउन प्रहरीको जिम्मा लगाइएका वडाध्यक्षमाथि प्रहरीले रातिको समयमा निर्घात कुटपिट गरेको घटना सार्वजनिक

logo
नारायण वली,
प्रकाशित २०८३ जेठ ३ आइतबार
jeevan shreewastab-police-attract-1.jpg

लुम्बिनी । कपिलवस्तुको कृष्णनगरमा प्रहरी र जनप्रतिनिधिबीचको विवादले नयाँ मोड लिएको छ । सामान्य पारिवारिक विवाद मिलाउन प्रहरीको जिम्मा लगाइएका एक वडाध्यक्षमाथि प्रहरीले रातिको समयमा निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको हो । 

श्रीमान्–श्रीमतीबीचको सामान्य विवादमा कुटपिटबाट घाइते भएका कृष्णनगर नगरपालिका वडा नं ११ का वडाध्यक्ष जीवनकुमार श्रीवास्तवकी श्रीमती रेखा श्रीवास्तवले प्रहरीलाई गुहारेर सम्झाइबुझाई गर्न आग्रह गरेको भए पनि प्रहरीले वडाध्यक्ष श्रीवास्तवलाई राति नै नियन्त्रणमा लिई कुटपिट गरेको आरोप लागेको छ ।

कृष्णनगरमा घटेको यो घटनालाई लिएर स्थानीय बासिन्दाले प्रहरी प्रशासनको चरम दमन र स्वेच्छाचारी कार्यशैली भन्दै गम्भीर विरोध जनाउँदै जनप्रतिनिधिको सुरक्षा र मर्यादामाथि नै प्रहार भएको आक्रोश पोखेका छन् ।

घटनाको पृष्ठभूमि
पीडितका अनुसार घटना जेठ १ गते रातिको हो । स्थानीय श्री भोलेश्वरनाथ शिव तथा हनुमान मन्दिर संरक्षण समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष श्रीवास्तव त्यो दिन मन्दिरमा बसेर खाँदै थिए ।

सोही क्रममा मन्दिर नजिकै घरबाट उनकी श्रीमतीले मार्बलको टुक्राले हानेपछि सामान्य भनाभन र गालीगलौजको अवस्था सिर्जना भएको थियो ।

विवादले गम्भीर रूप नलिए पनि श्रीमतीले आफ्ना श्रीमानलाई सम्झाइ बुझाइ गरेर रातभर प्रहरी हिरासतमा राखी भोलिपल्ट बिहान छाडिदिनु र कुनै कारबाही नगर्नु भन्ने अनुरोधसहित प्रहरीलाई खबर गरेकी थिइन् ।

श्रीमतीको त्यही आग्रहका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । रातिको समयमा शान्त राख्नलाई लगिएको अवस्थाले एकाएक अर्को मोड लियो । उनलाई रातिको साढे २ बजे प्रहरीले स्वास्थ्य जाँचका लागि शिवराज अस्पताल बहादुरगंज पुर्यायो ।

अस्पतालमा पुगेपछि वडाध्यक्षका दुवै हातमा हत्कडी कसिएको थियो । हातमा हत्कडी कसिलो भएको र त्यसले दुःखेको हुँदा हत्कडी खुकुलो बनाइदिन वडाध्यक्षले प्रहरीसँग आग्रह गरेका थिए ।

जनप्रतिनिधिको उक्त आग्रहलाई बेवास्ता गर्दै त्यहाँ खटिएका प्रहरीले उल्टै वडाध्यक्षमाथि जाइलाग्दै निर्घात कुटपिट गरेको पीडित श्रीवास्तव बताउँछन् ।

उनले भने, 'मेरो पछाडिबाट घाँटी समातेर गाली गरेपछि मैले प्रहरी दमन मुर्दावाद भनेकै हुँ, त्यसपछि अगाडिबाट घाँटी समातेर हत्कडी लगाएकै अवस्थामा लडाएर एकैपटक चार पाँच जना प्रहरीले कुटे । त्यसबेला अस्पतालमा देख्ने डाक्टर र बिरामी पनि छन् । सबैभन्दा धेरै दुई जना प्रहरीले कुटेका हुन् ।' 

थप उपचारका लागि शनिबार राति रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन हस्पिटलमा ल्याइएका श्रीवास्तव र उनलाई हस्पिटलमा ल्याएर आएका आफन्त र उनका साथीले हत्कडी लगाएर नियन्त्रणमा रहेको व्यक्तिमाथि प्रहरीबाट यस प्रकारको शारीरिक आक्रमण हुनु मानवअधिकारको गम्भीर उल्लंघन र गैरकानूनी दमन भएको बताए ।

हातमा हत्कडी कसिएकै अवस्थामा निर्दयी ढंगले कुटपिट गरिएपछि उनको शरीरमा चोट लागेको देखिन्छ । टाउको, निधार र अनुहारमा चोट लागेको देख्न सकिन्छ । 

यस घटनाका बारेमा यथार्थ के भएको थियो ? भन्ने विषयमा घाइते श्रीवास्तवकी श्रीमती रेखा श्रीवास्तवलाई टेलिफोन गरी बुझ्दा उनले भनिन्, 'हाम्रो सामान्य पारिवारिक खटपट र वादविवाद भएको थियो । गालीगलौजको अवस्थासम्म पुगेको उक्त विवादलाई साम्य पार्न र श्रीमानलाई सम्झाइबुझाइ गर्न भन्दै मैले नै स्थानीय प्रहरीलाई खबर गरेकी हुँ । प्रहरीहरू आउनु भयो, मैले प्रहरीसमक्ष श्रीमानलाई रातभर प्रहरी चौकीमै राखेर सम्झाइबुझाइ गरी बिहान छोडिदिनु, कुनै कारबाही नगर्नु भनी स्पष्ट आग्रह गरेकी हुँ । तर त्यहाँ त रगताम्य हुने गरी निर्घात कुटपिट गर्नुभएछ । यो निन्दनीय भएको छ ।' 

यता जनप्रतिनिधिसमेत रहेका व्यक्तिलाई प्रहरीले मध्यरातमा हत्कडी लगाएर निर्घात कुटपिट गरेको खबर सार्वजनिक भएपछि कृष्णनगरका स्थानीय आक्रोशित बनेका छन् । स्थानीयले यसलाई ‘प्रहरी दमन’ र ‘राज्य शक्तिको दुरुपयोग’ को संज्ञा दिएका छन् ।

उनीहरूले जिम्मेवार पदमा बसेको व्यक्तिमाथि प्रहरीले अस्पतालमा कुटपिट गर्नु निन्दनीय रहेको भन्दै दोषी प्रहरी अधिकारीमाथि कडा कारबाहीको माग गरेका छन् ।

यस घटनाले कृष्णनगर क्षेत्रको सुरक्षा व्यवस्था, स्थानीय प्रशासनको कार्यशैली र नागरिकको अधिकारको विषयमा गम्भीर प्रश्न खडा गरेको छ । स्थानीयले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न उच्च निकायसँग जोडदार माग गरेका छन् ।

यस विषयमा एक प्रहरी अधिकारीले भने, 'अस्तिको दिन उहाँको मेडमले झगडा भयो, तोडफोड भयो, मलाई पिट्न थाल्यो भनेर हामीलाई खवर गर्नुभयो । हामी खवर आएपछि त्यहाँ पुग्यौँ, हामी जाँदा पीडक भनिएका व्यक्तिले धेरै रक्सी खानुभएको थियो, धेरै मात्तिनु भएको थियो । त्यहाँबाट हामीले अफिसमा ल्यायौं, हामीले अस्पताल लग्यौं, प्रहरीलाई नै लात्तीले हानेर गाडीबाट तल झार्दिनुभयो, निस्किदाखेरी आफू घोप्टोमुखी तल गरेर झर्नुभयो भन्ने कुरा पनि छ ।' 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी एवं प्रवक्ता रिपेन्द्रकुमार सिंहले हाम्राकुरासँगको कुराकानीमा भने, 'उहाँहरूले एकतर्फी आरोप लगाउनु भएको छ । उहाँहरूकै घरपरिवारबाट पहिले प्रहरी बोलाउनु भएको थियो । उहाँले अल्कोहल पिउनु भएको थियो । उल्टै प्रहरीलाई दुर्व्यवहार, अख्तियारी गर्नुभएको रहेछ, सो क्रममा अब उहाँले पछि कुटपिट भयो भन्नु भएको रहेछ । यो कुरा आयो । इमर्जेन्सीमा देख्ने, सुन्नेहरुले पनि उसकै गल्ती भनेका छन् । प्रहरीमाथि नै जाइलाग्न खोजेका थिए । त्यही क्रममा लडेका हुन् उनी । अब अहिले कुटपिट गरे भनेर एकतर्फी आरोप लगाउनु भएको रहेछ ।'

सो सम्बन्धमा आज आइतबार एक छानबिन समिति गठन गरिएको उनले बताए । 

उनले भने, 'प्रहरी निरीक्षक देवेन्द्रराज जोशीको नेतृत्वमा चार सदस्यीय एक टोली गठन गरेका छौँ । छानबिन समितिले जसलाई दोषी देखाउँछ उसलाई कानूनी कारबाही हुन्छ । यदि उहाँले लगाएको आरोप जसरी प्रहरीबाट पनि गल्ती भएको छ भने पनि कारबाही हुन्छ ।'

हाम्राकुरालाई प्राप्त शिवराज अस्पतालको इमर्जेन्सी कार्डमा डाक्टरले लेखेको पत्रमा प्रहरी र श्रीवास्तवबीच अस्पताल अगाडि विवाद भएको, चोट लागेको लेखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ