जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न संसद्मा अर्जुननरसिंह केसीको माग [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
404
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा शून्य समय लिएर बोल्दै उनले आयोगले प्रतिवेदन बुझाइसक्दा पनि सरकारले त्यसलाई औपचारिक रूपमा सार्वजनिक नगरेको भन्दै आपत्ति जनाएका हुन्।
नेता केसीले सो महत्त्वपूर्ण प्रतिवेदन संसद्मा ल्याएर सबै माननीय सदस्यहरूलाई तुरुन्त उपलब्ध गराउन सरकारलाई सचेत गराए। बैठकमा बोल्दै उनले भने, “भाद्र २३ र २४ को नरसंहार र विध्वंशको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन बुझाइसकिएको छ। तर उक्त दस्तावेज अझै औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। तसर्थ त्यसलाई तत्काल सार्वजनिक गर्दै माननीय सदस्यहरूलाई उपलब्ध गराइयोस् भन्ने माग गर्दछु।”
विगतमा गठित विभिन्न आयोगका प्रतिवेदनहरू जस्तै यस आयोगको प्रतिवेदन पनि कार्यान्वयनमा नआएको र दराजमा थन्क्याएर राखिएको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन्। नेता केसीले देश र जनतासँग जोडिएका यस्ता गम्भीर घटनाको सत्यतथ्य बाहिर ल्याउने कुरामा सरकारले थोरै पनि ढिलासुस्ती गर्न नहुने धारणा राखे।