समयमै मल–बिउ उपलब्ध गराउन र विकासका नाममा हुने प्रदूषण रोक्न सांसदहरूको माग
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
518
Shares
काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले आम नागरिक र किसानका जल्दाबल्दा समस्याहरू तत्काल समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष र आकस्मिक समय लिएर बोल्दै सांसदहरू अच्युतम लामिछाने, इन्दिरा रानामगर र अनुष्का श्रेष्ठ लगायतले किसानका समस्या, वातावरणीय प्रदूषण र सुशासनका विषयमा सरकारलाई सचेत गराएका हुन्।
सांसद अच्युतम लामिछानेले मुख्य खेतीबाली लगाउने समय नजिकिँदै गर्दा पनि किसानहरूले मल, बिउबिजन र कृषि औजार नपाएको भन्दै आक्रोश व्यक्त गरे। समयमै कृषि सामग्री उपलब्ध नहुँदा उत्पादन घट्ने र कृषि पेसा नै सङ्कटमा पर्ने उनले चेतावनी दिए।
संसद्मा बोल्दै उनले भने, “किसानहरू खेती गर्ने मुख्य समयमा मल, बिउ, बिजन र आवश्यक कृषि औजारको अभावमा छन्। आफ्ना जग्गा जमिनमा उत्पादन गरेका वस्तु खेतदेखि पेटसम्म पुर्याउन र आफ्नो गोठमा उत्पादित वस्तु गोठदेखि ओठसम्म पुर्याउन दुःख गर्ने कृषकलाई सम्झेर सरकारसँग म माग गर्दछु कि खेतीको समयमा आवश्यक पर्ने मल, बिउबिजन र कृषि औजार सहज, सुलभ र समयमा उपलब्ध गराउने सुनिश्चितता गरियोस्।”
सांसद इन्दिरा रानामगरले झापामा एशियन हाइवे (एशियाली राजमार्ग) निर्माणका क्रममा बस्तीभित्रै अलकत्र प्लान्ट स्थापना गर्दा वायु प्रदूषण बढेको भन्दै आपत्ति जनाइन्। प्रदूषणका कारण स्थानीयमा क्यान्सर जस्तो गम्भीर रोगको जोखिम बढेको उनको भनाइ थियो।
“झापा क्षेत्र नम्बर २ मा वायु प्रदूषणका कारण धेरै क्यान्सर पीडितहरू छन्। एशियन हाइवे बनाउने भनेर अलकत्र (प्लान्ट) हरू बस्तीमा बनाएका छन्। हटाउन धेरै पटक ध्यानाकर्षण गराउँदा पनि नसुनेको अवस्था छ,” उनले भनिन्। यसका साथै ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र घरेलु उद्योगका लागि छुट्याइएको ठाउँमा ठूला उद्योगहरू सञ्चालन गर्न दिइएको र त्यसबाट निस्कने प्रदूषणका कारण स्थानीय बासिन्दा बिरामी परेको तथा कतिपयको मृत्यु समेत भएको भन्दै उनले सो क्षेत्रको तत्काल उचित व्यवस्थापन गर्न माग गरिन्।
सांसद अनुष्का श्रेष्ठले मुलुकको आर्थिक मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सरकारले सक्षम र सिर्जनात्मक नेतृत्व चयन गर्नुपर्नेमा जोड दिइन्। सरकारी निकायहरूमा पदाधिकारी र कर्मचारी नियुक्तिको प्रक्रियामा भइरहेको ढिलासुस्तीले सेवा प्रवाहमा असर परेको उनको भनाइ थियो।
संसद्मा बोल्दै उनले भनिन्, “सक्षम पदाधिकारी नियुक्ति गर्ने कार्यमा ढिलाइ नगर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। समयमा नै इफेक्टिभ (प्रभावकारी) पर्यटन प्रवद्र्धनका निम्ति सक्षम, सिर्जनात्मक नेतृत्व र संरचना तत्काल आवश्यक छ, सम्माननीय सभामुखमार्फत नेपाल सरकारलाई निवेदन गर्न चाहन्छु।” उनले नागरिकका दैनिक प्रशासनिक र सेवाका कामहरूलाई समेत तीव्रताका साथ अघि बढाउन सरकारलाई आग्रह गरिन्।