arrow

प्रतिनिधि सभा

संसद्‌मा रिपोर्टिङ गर्ने पत्रकारलाई न्यूनतम सुविधा उपलब्ध गराइयोस्: सांसद सुनार

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
khagendra-sunar-04.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले संसद् भवन बाहिर रिपोर्टिङमा खटिने संसदीय पत्रकारहरूले भोग्नुपरिरहेको सास्ती र कठिनाइलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पत्रकारहरूका लागि संसद् भवन परिसरमा न्यूनतम मानवीय सुविधा समेत नभएको भन्दै आपत्ति जनाए।

रातदिन नभनी देश र जनतालाई सूसुचित गर्ने कार्यमा अहोरात्र खटिने सञ्चारकर्मीहरूले संसद्को गेट बाहिर बस्नुपर्ने र आधारभूत आवश्यकताबाट समेत बञ्चित हुनुपर्ने अवस्था रहेको उनले बताए। संसद्‌मा बोल्दै उनले भने, “संसदीय मामिलामा रिपोर्टिङमा खटिएका पत्रकार साथीहरूको गेट बाहिरको दुःख र हरिबिजोग देखेर मन खिन्न भएको छ। रातदिन नभनेर जनतालाई सुसूचित गर्ने कर्ममा लागेका संसदीय पत्रकार साथीहरूलाई कम्तिमा तिर्खा लाग्दा पानी पिउने र पिसाब लाग्दा वासरुम (शौचालय) जान पाउने व्यवस्था गरियोस्, म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।”

सांसद सुनारले खुला आकाशमुनि सञ्चारमाध्यमका उपकरणसहित खटिने पत्रकारहरूका लागि मौसमका कारण झनै ठूलो सास्ती हुने गरेको औँल्याए। घाम र पानी पर्दा ओत लाग्ने ठाउँ समेत नहुनु अन्तर्राष्ट्रिय जगत्‌मै देशका लागि लज्जास्पद विषय भएको उनको टिप्पणी थियो।

“पानी पर्दा महँगा क्यामरा जोगाउन र घाम लाग्दा टाउको लुकाउन हम्मेहम्मे भएको छ। अन्तर्राष्ट्रिय जगत्‌मा पनि लाजै हुने गरी पत्रकार साथीहरूलाई दुःख नदिन म यस सदन र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,” उनले थपे।

आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल चलिरहेको संसद् बैठकमा सांसद सुनारले राज्यको चौथो अङ्गका रूपमा रहेका पत्रकारहरूको कार्यस्थललाई मर्यादित र सहज बनाउन संसद् सचिवालय र सरकारले तत्कालै विशेष कदम चाल्नुपर्ने माग गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ