वरीयता क्रम र सरकारको समीक्षासहित ११ एजेन्डामा छलफल
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
3.1k
Shares
काठमाडौँ । अन्तत: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेका छन् ।सोमबार पार्टी अध्यक्ष ओलीको गुण्डु निवासमा बसेको सचिवालय बैठकले भण्डारीलाई पुनः पार्टी सदस्यता दिने औपचारिक निर्णय गरेको हो।
दुई कार्यकाल मुलुकको राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेर सक्रिय राजनीतिभन्दा बाहिर रहेकी भण्डारीको एमाले सदस्यता नवीकरण भएसँगै उनी पुनः औपचारिक रूपमा पार्टी राजनीतिमा फर्किएको सङ्केत मिलेको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव लेखराज भट्टले भने, “आजको एउटै महत्त्वपूर्ण निर्णय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता दिने निर्णय भएको छ।”
पूर्वराष्ट्रपति भण्डारीको भावी भूमिका र पार्टी नेतृत्वमा आउन सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उपमहासचिव भट्टले अहिले उनलाई सदस्यता दिने निर्णय मात्र भएको र नेतृत्वको विषय भविष्यको कुरा भएको स्पष्ट पारे। उनी कुन जिम्मेवारीमा रहने भन्ने निर्णय पार्टीले आवश्यकताका आधारमा गर्ने उनको भनाइ छ।
बैठकको शुरूमा अध्यक्ष ओलीले पछिल्लो निर्वाचनको परिणाम र वर्तमान राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षात्मक सम्बोधन गरेका थिए। बैठकमा एमालेले वर्तमान सरकार स्वेच्छाचारी ढङ्गले अगाडि बढिरहेको निष्कर्ष निकाल्दै यसबारे समेत गम्भीर समीक्षा गरेको छ।
बैठकमा पार्टी महासचिवले सांगठनिक र राजनीतिक प्रकृतिका विभिन्न ११ वटा कार्यसूची (एजेन्डा) हरू प्रस्तुत गरेका थिए। बैठकमा प्रस्तुत गरिएका प्रमुख एजेन्डाहरूमा पदाधिकारीहरूको वरीयता क्रम निर्धारण, वर्तमान सरकारको कामकारबाहीको समीक्षा, पार्टी सदस्यता नवीकरण तथा विस्तार, र पदाधिकारी एवं सदस्यहरूको कार्यविभाजन रहेका छन्।
उपमहासचिव भट्टका अनुसार बैठकमा नीतिगत तथा प्राविधिक विषयहरू समेटिएका अन्य महत्त्वपूर्ण एजेन्डाहरूमा पनि छलफल भएको छ। जसमा संविधान संशोधन सुझाव कार्यदल गठन, निर्वाचन समीक्षा प्रतिवेदन तयारी कार्यदल गठन, पार्टी केन्द्रीय कार्यालय भवन निर्माण, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक समिति गठन र सङ्गठन विभागको विस्तार रहेका छन्।
सोमबार प्रस्तुत गरिएका यी विविध एजेन्डाहरूमध्ये बाँकी रहेका विषयहरूमाथि विस्तृत छलफल गरी आवश्यक निर्णय लिनका लागि एमाले सचिवालयको अर्को बैठक आगामी जेठ ८ गते बिहान साढे ११ बजे पुनः अध्यक्ष ओलीकै निवासमा बस्ने गरी तय भएको छ।