arrow

वैकल्पिक व्यवस्था बिना बस्ती नहटाउन मुसहर सुकुमवासीको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
uthibas-lahan.jpg

काठमाडौँ । सिरहाको लहान बजार क्षेत्रमा बसोबास गर्दै आएका दलित मुसहर समुदायका सुकुमवासीहरू आइतबारदेखि आन्दोलनमा उत्रिएका छन्। पछिल्लो समय सरकारले विभिन्न स्थानका सुकुमवासी बस्तीहरू हटाउने तयारी गरिरहेको भन्दै उनीहरूले त्यसको विरोधमा प्रदर्शन सुरु गरेका हुन्।

प्रदर्शनकारीहरूले आफूहरू हाल बसोबास गर्दै आएकै स्थानमा जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने माग गरेका छन्। यदि त्यसो गर्न सम्भव नभए वैकल्पिक र सुरक्षित बसोबासको ग्यारेन्टी गरेर मात्रै आफूहरूलाई स्थानान्तरण गर्नुपर्ने उनीहरूको अडान छ। उचित विकल्प बिना बस्ती हटाउने निर्णय अन्यायपूर्ण हुने उनीहरूले बताएका छन्।

प्रदर्शनमा ठुलो सङ्ख्यामा दलित महिलाहरूको सहभागिता रहेको छ। उनीहरूले सरकारको यो कदमले आफूहरू चरम डर र त्रासमा बाँच्न बाध्य भएको गुनासो गरे। आन्दोलनमा सहभागी एक महिलाले भनिन्, “हामीलाई स्पष्ट सूचना पनि दिइएको छैन, तर कुन दिन एक्कासि आएर घर भत्काइदिने हुन् भन्ने डरले रातदिन त्रासमा बस्नुपरेको छ।”

बस्तीमा बस्ने नागरिकहरूले सुकुमवासी समस्या समाधान गर्ने बहानामा गरिब र विपन्न वर्गलाई उठिबास लगाउन लागिएको आरोप लगाएका छन्। विशेष गरी दैनिक मजदुरी गरेर जीविका चलाउने मुसहर समुदायका नागरिकहरू वर्षाको समयमा आश्रयविहीन हुने चिन्ताले पिरोलिएका छन्। आन्दोलनमा उठेको मुख्य प्रश्न नै आगामी वर्षायामलाई लिएर छ। “पहिला सुरक्षित बास, गाँस र कपासको व्यवस्था गरियोस्, त्यसपछि मात्रै घर हटाउने कुरा गरियोस्,” अर्की एक महिलाले भनिन्, “वर्षा सुरु भइसकेको बेला हामी बालबाच्चा लिएर कहाँ जाने ?”

सुकुमवासीहरूले सरकारले “कोही पनि नागरिक सुकुमवासी रहनु हुँदैन” भन्ने नारा र नीति लिएको भए पनि व्यवहारमा पुनः स्थापना र मानवीय व्यवस्थापनको कुनै स्पष्ट योजना नदेखाएको गुनासो गरे। बिना वैकल्पिक व्यवस्था घरटहरा तोडफोड गरिनुले विपन्न समुदायलाई थप असुरक्षित र सङ्कटमा धकेल्ने उनीहरूको भनाइ छ।

यसैबीच, सामाजिक अगुवाहरूले पनि सुकुमवासी समस्या समाधानका लागि बल प्रयोग गर्ने वा बस्ती हटाउने नीति मात्रै पर्याप्त नहुने बताएका छन्। उनीहरूले दीर्घकालीन पुनः स्थापना, रोजगारी, शिक्षा र सुरक्षित आवाससहितको बृहत् योजनामा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याएका छन्। लहानका प्रदर्शनकारीहरूले तत्काल आफूहरूसँग संवाद गर्न, स्पष्ट सूचना दिन र मानवोचित व्यवस्थापन गर्न माग गर्दै माग पुरा नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ