arrow

प्रतिनिधि सभा बैठक

दलित समुदायमाथिको विभेद अन्त्य गर्न सांसद नीता घतानीद्वारा सरकारको ध्यानाकर्षण

भनिन्– ‘यो केवल कोठाको मात्र विषय होइन’

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
nita-gharti-.jpg

काठमाडौँ । प्रतिनिधि सभा सदस्य नीता घतानीले दलित समुदायमाथि डेरा खोज्दादेखि समाजका विभिन्न क्षेत्रमा हुँदै आएको जातीय विभेदको व्यावहारिक अन्त्य गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले नेपालको राजधानीमै दलित समुदायले भोग्नुपरेको विभेदकारी यथार्थ संसद्मा प्रस्तुत गरेकी हुन्।

सांसद घतानीले माइतीघर मण्डलामा दीपा नेपालीले ‘कोठा खाली छ सरकार ?’ भन्दै सत्याग्रह धर्ना बसिरहेको विषय संसद्मा जानकारी गराइन्। “यो केवल एउटा कोठाको विषय मात्रै नभई दलित समुदायमाथि वर्षौंदेखि थोपरिँदै आएको निषेध, विभेद र बहिष्कारविरुद्ध उठेको समाजको यथार्थ प्रश्न हो,” उनले भनिन्, “यो राज्यमा दलित समुदायका लागि समान र सम्मानको अवस्था किन अझै छैन भन्ने प्रश्न पनि हो।”

नेपालको संविधानले समता, सामाजिक न्याय, दलितको हक र देशलाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरे पनि व्यवहारमा यसको कार्यान्वयन निकै फितलो रहेको उनले बताइन्। विभेदका घटना सुनाउँदै सांसद घतानीले स्नातकोत्तर (मास्टर्स) पढ्न काठमाडौँ आएका किरण विकलाई घरबेटीले जात थाहा पाएपछि डेराबाट निकालेको र अन्ततः उनी सुदूरपश्चिमस्थित आफ्नो घर फर्किन बाध्य भएको पीडादायी घटना संसद्मा सुनाइन्।

त्यस्तै, निरज विश्वकर्माले जातकै कारण काठमाडौँमा ४० पटकसम्म डेरा फेर्न बाध्य हुनुपरेको अर्को उदाहरण दिँदै उनले दलित समुदायका शिक्षित वर्गले समेत शिक्षित भनिएकै समाजमा जातकै कारण मानसिक र सामाजिक पीडा भोग्नुपरिरहेको उल्लेख गरिन्।

संसद्मा बोल्दै सांसद घतानीले दलित समुदायको डेरा, शिक्षा, रोजगार र सार्वजनिक जीवनका हरेक चरणमा हुने विभेदको व्यावहारिक रूपमै अन्त्य गर्न सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिइन्। दलित समुदायको आत्मसम्मान र अधिकारको मुद्दा ‘मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८’ को मूल भावनासँग जोडिएको विषय भएकाले नागरिकको आधारभूत मानवअधिकारको संरक्षण गर्न उनले सरकारसँग जोडदार माग गरेकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ