arrow

बुटवलमा कुसुम कोसेली

किसानको पसिनादेखि उद्यमीको जाँगरसम्मको 'ब्राण्डिङ'

सीप र श्रमको उचित मूल्य खोज्दै गरेका उद्यमीहरुका लागि बनेको साझा मञ्च

logo
नारायण वली,
प्रकाशित २०८३ जेठ ६ बुधबार
kushum arganik koseli ghar-butwal-.jpg

लुम्बिनी । नेपाली किसान र साना उद्यमीहरुद्वारा उत्पादित विशुद्ध अर्गानिक खाद्य पदार्थ र परम्परागत हस्तकलाका सामानहरुलाई एकै छानामुनि उपलब्ध गराउने उद्देश्यले स्थानीय उत्पादनको बजारीकरण, दिगो कृषिको प्रवद्र्धन र साना उद्यमीको आयआर्जन बढाउने लक्ष्यका साथ बुटवलमा एक कोसेली घर स्थापना गरिएको छ ।

अर्गानिक कृषि उपज र उद्यमीहरुले तयार पारेका कलात्मक हस्तकलाका सामानहरुलाई एकीकृत रुपमा बजारीकरण गर्ने उद्देश्यले बुटवलको ट्राफिक चोकमा ‘कुसुम अर्गानिक कोसेली घर’ सञ्चालनमा ल्याइएको हो । 

जैविक उत्पादनहरुलाई प्याकेजिङ गरी ब्रान्डिङ गर्ने र आधुनिक बजारमा विशेषगरी पहाडी र तराईका क्षेत्रमा उत्पादन हुने अर्गानिक उत्पादनहरु मार्सी चामल, सिमी, चिनो, आलु, कागुनो, टिमुर, मह, जिम्बु, लगायत विभिन्न रैथाने पिठोहरु सङ्कलन गर्नुको साथै पश्मिना, राडीपाखी, हातेकागजका वस्तुहरु, वेत र बाँसका रैथाने उत्पादनको संरक्षण, प्रवद्र्धन गरी नेपालीपनको मौलिक पहिचान गर्ने योजना रहेको सञ्चालकको भनाइ छ । 

कोसेली घरमा ओखर, सिमी, चिनुदेखि लिएर विभिन्न प्रकारका अर्गानिक चिया, बाँसका सामान, कफी र मह उपलब्ध छन् । ग्रामीण भेगका किसानहरुले विषादीरहित रुपमा उत्पादन गरेका रैथाने बालीहरुलाई सिधै बजारमा ल्याइएको छ, जसले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै स्थानीय उत्पादनको खपत बढाउने विश्वास गरिएको छ । 

बाग्लुङदेखि रुकुम पूर्व हुँदै कर्णालीसम्म किसान तथा साना उद्यमीहरुले हातले तयार पारेका सामानहरुको माग स्वदेशमा मात्र नभई विदेशी पर्यटकहरुमाझ पनि उच्च रहेकाले यसले नेपाली मौलिकताको ब्रान्डिङमा मद्दत गर्ने कोसेली घरका सञ्चालक प्रतिनिधि मनोज घिमिरे बताए । उनले थपे, 'बढ्दो सहरीकरण र स्वास्थ्यप्रति सचेत उपभोक्ताका लागि यो कोसेली घरले सुरक्षित र रैथाने खाद्यान्न आपूर्ति गर्नेमा दृढ छौं ।' 

कोसेलीका सञ्चालकहरु भन्छन्, 'साना किसान र उद्यमीलाई बिचौलीको चंगुलबाट मुक्त गरी उनीहरुको उत्पादनको उचित मूल्य दिलाउनु हो । स्थानीय कच्चापदार्थको प्रयोग र ग्रामीण महिलाहरुको सहभागितालाई प्रोत्साहन गर्दै, स्वदेशी उत्पादनले आयात प्रतिस्थापन गर्न सहयोग पुर्याउने विश्वास लिएका छौँ ।' 

नेपाली उत्पादनले कोसेली घरमार्फत् गति लिइरहे पनि यिनीहरुका केही आफ्नै चुनौती छन् । कच्चापदार्थको निरन्तरता, आधुनिक प्याकेजिङको अभाव र युवा जनशक्तिको पलायनले उत्पादनमा केही कठिनाइ ल्याएको छ । यसको दिगोपनका लागि स्थानीय र प्रदेश सरकारले उद्यमीहरुलाई सहुलियतपूर्ण ऋण, प्रविधिमा पहुँच र बजारीकरणमा थप सहयोग गर्नुपर्ने उद्यम सहजकर्ता मीन राना बताउँछन् ।

यद्यपि, ‘कोसेली घर’ ले देखाएको बाटोले ग्रामीण क्षेत्रका कच्चापदार्थ र खेर गइरहेका स्रोतहरुलाई समेत मूल्यवान वस्तुमा बदल्न सकिन्छ भन्ने प्रमाणित गरेको घिमिरे बताउँछन् ।  

नेपालमै केही गर्ने अठोट ‘कोसेली घर’ को अवधारणाले नेपाली उत्पादन, नेपालीको रोजाइ भन्ने मर्मलाई सार्थक बनाएको छ । यसले देशको अर्थतन्त्रमा आयात प्रतिस्थापन गर्दै, गाउँका किसान र सहरका उपभोक्ताबीच सुमधुर सम्बन्ध कायम गर्ने पुलको काम गर्दछ ।

विदेशको मरुभूमिमा पसिना बगाउनु भन्दा आफ्नै माटोमा अर्गानिक खेती र हस्तकलाका सामग्री बनाएर नेपालमै आत्मनिर्भर हुन सकिन्छ भन्ने गतिलो सन्देश कोसेली घरले दिएको अर्गानिक उत्पादनमा लागेका उद्यमी भुवनेश्वर न्यौपानेले बताए । 

महिला तथा युवा उद्यमशीलताको नयाँ आधार
वैदेशिक रोजगारीको मोह र स्वदेशमा अवसरको अभाव झेलिरहेका युवाहरुका लागि कोसेली घरहरु पछिल्लो समय नयाँ आशाका किरण बन्दै गएका छन् ।

यसले स्थानीय स्तरमा खेर गइरहेका स्रोतसाधनको प्रयोग गरी स्वरोजगार बन्न प्रोत्साहित गर्दछ । यसले नेपाली कला र संस्कृतिको जगेर्ना गर्नुका साथै गाउँपालिका र नगरपालिकाहरुलाई ‘स्थानीय उत्पादनको हब’ को रुपमा विकास गर्न ठूलो मद्धत गर्ने प्रवल सम्भावना देखिएको छ । 

आयात प्रतिस्थापन र दिगो अर्थतन्त्रको विकास
नेपालमा हरेक वर्ष अर्बौंको कृषिजन्य र उपभोग्य सामग्रीहरु विदेशबाट आयात हुने गर्दछन् । कोसेली घर जस्ता अवधारणाले स्थानीय उत्पादनको ब्रान्डिङ र गुणस्तरीय प्याकेजिङमा जोड दिएर आयात प्रतिस्थापनमा ठूलो टेवा पुर्याउँछ । आफ्नै देशको माटोमा फलेका अन्न र स्थानीय किसानका हातले उत्त्पादन गरेका सामाग्री प्रयोग गर्दा नेपाली मुद्रा स्वदेशमै रहन्छ, जसले समग्र राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ डोहोर्याउँछ । 

नेपालमा केही गर्न सकिँदैन भन्ने निराशालाई चिर्दै, स्वदेशमै पसिना बगाएर व्यवसाय गरिरहेका उद्यमीहरुका लागि स्थानीय तहले कोसेली घरको अवधारणालाई नीतिगत रुपमै संस्थागत गर्नुपर्ने र यसले गाउँका रैथाने बाली तथा मौलिक सीपको संरक्षण गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने कृषि विज्ञहरु बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ