arrow

ड्रोनबाट भिडियो खिच्ने विषयलाई लिएर झडप

बाजुरा भ्रमणमा रहेको उपमहानगरको टोलीमाथि हातपातमा उत्रिए हुम्लाका स्थानीय, मेयर हमालसहित पाँच घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ६ बुधबार
gopal-hamal-dhangadhi.jpg

काठमाडौँ । बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा बाजुरा भ्रमणमा रहेको टोली र हुम्लाका स्थानीयवासीबीच झडप भएको छ। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहितको टोली अपि सैपाल हिमालको बेसक्याम्प ‘रानीसैन’ भ्रमणमा गएका बेला सो घटना भएको हो।

झडपका क्रममा हुम्लाका स्थानीयको आक्रमणबाट हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा, वडा सदस्य ३४ वर्षीय पेमा गारा गुरुङ, ३३ वर्षीया लक्ष्मी गुरुङ, २४ वर्षीया मिनु कुवँर र प्रहरी चौकी बिच्छ्यामा कार्यरत प्रहरी जवान महेश धामी सामान्य घाइते भएका छन्। घाइतेहरूको ढाड, गर्धन, छाती र खुट्टामा चोट लागेको भए पनि अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियानअन्तर्गत धनगढीका मेयर गोपाल हमाल, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की र प्रशासकीय अधिकृतसहित ४० जनाको टोली रानीसैनतर्फ जाँदै थियो। सोही क्रममा टोलीले ड्रोन क्यामेराबाट भिडियो खिच्न थालेपछि हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँका करिब दुई सयभन्दा बढी स्थानीय बासिन्दा आक्रोशित भई वादविवाद र हातपातमा उत्रिएको बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेश बहादुर शाहीले जानकारी दिए।

करिब तीन सयको सङ्ख्यामा रहेका हुम्ली बासिन्दाहरू अराजक शैलीमा प्रस्तुत भएपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। झडप र तनावमय स्थिति सिर्जना भएपछि भ्रमण टोली गन्तव्यमा नपुगी घाइतेहरूलाई लिएर बीच बाटोबाटै फर्किएको छ।

झडपको मुख्य जड बाजुराको हिमाली गाउँपालिका–३ मा पर्ने लाम्पाटा र च्याचौर क्षेत्रको वर्षौँ पुरानो सीमा विवाद हो। नापी, लालपुर्जा तथा प्रशासनिक अभिलेखअनुसार रानीसैन, च्याचौर र लाम्पाटा क्षेत्र बाजुरा जिल्लाको भूमि भए पनि हुम्लाका बासिन्दाहरूले यसलाई आफ्नो जिल्लामा पर्ने दाबी गर्दै आएका छन्।

यस क्षेत्रको सुरक्षा र विवाद समाधानका लागि गत जेठ ३ गते लाम्पाटास्थित च्याचौरमा अस्थायी प्रहरी चौकीको भवन निर्माण कार्य सुरु गरिएको थियो। तर, चौकी निर्माण र सीमाको विषयलाई लिएर स्थानीयबीच विवाद चुलिएको थियो, जसले मङ्गलवार हिंस्रक रूप लियो।

बाजुराको प्रशासनिक सीमाभित्र शान्तिपूर्ण रूपमा आएको भ्रमण टोली र सरकारी अधिकारीमाथि भएको यस आक्रमणको बाजुराबासीले तीव्र भर्त्सना गरेका छन्। विकास निर्माणमा अवरोध पुर्‍याउने र पाहुनाहरूमाथि जाइलाग्ने हुम्लाका दोषी स्थानीयलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न माग गरिएको छ। यस निन्दनीय घटनालाई लिएर अहिले सामाजिक सञ्जालमा समेत व्यापक आक्रोश र बहस सुरु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ