arrow

समस्याग्रस्त सहकारीका थप तीन सय चार साना बचतकर्ताको रकम फिर्ता

पहिलो चरणमा ५ लाखमुनिकालाई प्राथमिकता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
sahakari-samiti.jpg

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बुधबार कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत रकम फिर्ता गरेको हो।

समितिका अनुसार बुधबार कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका छन्। यसअघि समितिले कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारीका ७ जना गरी कुल ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरिसकेको छ।

समितिले पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिरहेको जनाएको छ। यसरी नै क्रमशः बचतकर्ताहरूको रकमका आधारमा वर्गीकरण गरेर अन्य बचतकर्ताहरूको पनि रकम फिर्ता गर्दै लगिने नीति समितिले लिएको छ।

व्यवस्थापन समितिको तथ्याङ्कअनुसार हालसम्म समस्याग्रस्त घोषित सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत रकम फिर्ता गर्नुपर्ने दायित्व छ। तीमध्ये अधिकांश बचतकर्ताहरू साना प्रकृतिका रहेका छन्। समितिले ५ लाख रुपैयाँभन्दा कम बचत भएकाहरूलाई साना बचतकर्ता र ५ लाख रुपैयाँभन्दा बढी बचत भएकाहरूलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरेको छ। कुल ७६ हजार बचतकर्तामध्ये ५ लाख रुपैयाँभन्दा बढी बचत गर्ने ठूला बचतकर्ताको सङ्ख्या जम्मा १८ हजार रहेको समितिले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ