काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बसिरहेको छ। बैठक सिंहदरबारस्थित संसद् भवनमा बसिरहेको हो ।
बैठकको शुरूमै श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले गत वैशाख २८ र २९ गते संसदमा सोधिएको प्रश्नको जवाफ प्रधानमन्त्रीले कहिले दिने भन्दै प्रश्न गरे ।
सामान्यतया एक साताभित्र जवाफ दिने मान्यता छ । उनले प्रश्नसमेत पूरा गर्न नपाइ सभामुख डोलप्रसाद अर्यालले माइक काटेका थिए ।
उनले ध्यानाकर्षण भएको भनी बस्न अनुरोध गरे ।
आजको बैठकका लागि संसद् सचिवालयले विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि विचार गर्ने र पारित गर्ने सम्भावित कार्यसूची तय गरेको छ।
बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री एवम् विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन साह बालेनका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले दुई वटा महत्त्वपूर्ण निर्वाचनसम्बन्धी विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची छ ।
मन्त्री गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछिन्।
यसका साथै मन्त्री गौतमले नै ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव समेत बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
आजको बैठकमा अर्थतन्त्र र विकास निर्माणका दृष्टिले महत्त्वपूर्ण मानिएको आर्थिक विधेयकमाथि पनि छलफल हुनेछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
उक्त विधेयकमाथि सांसदहरूबाट प्राप्त भएका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिएपछि अर्थमन्त्री डा. वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।