arrow

परराष्ट्र मन्त्रालयले भन्यो - नेपाली चियाको निर्यातमा देखिएको अवरोध हट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ८ शुक्रबार
foreign-ministry-parrastra-mofa.jpg

काठमाडौँ । परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा केही समयदेखि देखिएको नीतिगत अवरोध कूटनीतिक पहलपछि पूर्ण रूपमा हटेको जानकारी दिएको छ। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको नयाँ निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव समस्या समाधान भएको बताए। नयाँ दिल्लीस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयको निरन्तर समन्वय तथा कूटनीतिक संवादपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी पुनः सहज भएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र चीनबीचको परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जुन महिनामा काठमाडौँमा आयोजना हुने तय भएको छ, जसको सह–अध्यक्षता नेपालका तर्फबाट परराष्ट्र सचिव र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूतले गर्नेछन्। यसै अवधिमा नेपालले नर्वे र स्विट्जरल्याण्डसँग पनि द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना गर्दैछ। त्यसैगरी संयुक्त अधिराज्यकी पार्लियामेन्ट्री अन्डर सेक्रेटरी सीमा मल्होत्राको नेपाल भ्रमण र परराष्ट्रमन्त्रीसँगको भेटवार्ता, एफएटीएफको ‘ग्रे लिस्ट’ बाट बाहिरिने सम्बन्धमा भएका प्रयासहरू तथा विमस्टेक म्यारिटाइम ट्रान्सपोर्ट एग्रिमेन्टको कार्यान्वयनका विषयमा पनि मन्त्रालयले ब्रिफिङ गरेको छ।

कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ सेन्टरहरूमा बन्धक बनाइएका नेपालीहरूको उद्धार कार्यलाई सरकारले तीव्रता दिएको छ। हालसम्म ६ सय ८७ जना नेपालीलाई सकुशल उद्धार गरी स्वदेश फर्काइसकिएको छ, जसमा पछिल्लो दुई हप्तामा मात्रै ७१ जना थपिएका हुन्। यसबाहेक कम्बोडियाका विभिन्न जेलमा रहेका २९ जना नेपालीको कानुनी सहायताका लागि मन्त्रालयले पहल गरिरहेको छ भने म्यानमारमा कैद परेका नेपालीहरूको कैद मिनाहाका लागि कूटनीतिक प्रयास जारी रहेको छ।

विदेशमा रहेका र विदेश जान चाहने नेपालीहरूलाई परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराउन परराष्ट्र मन्त्रालयले आगामी जेठ २२ गते ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक गर्ने तयारी गरेको छ। यसका साथै व्यक्तिगत घटना दर्तासँग सम्बन्धित कागजातहरूको अनलाइन प्रमाणीकरण प्रणालीलाई पनि थप विस्तार गरिएको छ। गुडिरहेको राहदानी सेवाका बीच राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको अन्तिम तयारी गरिरहेको छ। आगामी असार अन्तिम सातादेखि यो नयाँ प्रणाली पूर्ण रूपमा लागू हुने भएकाले नयाँ प्रणालीमा संक्रमणकालीन अवस्थाको सहजताका लागि आगामी पुस मसान्तसम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई जेठ महिनाभित्रै आवेदन दिन मन्त्रालयले विशेष अनुरोध गरेको छ।

मन्त्रालयले आगामी जेठ २९ गते ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ भव्य रूपमा मनाउने र 'प्रोफेसर यदुनाथ खनाल प्रवचन श्रृङ्खला'को पाँचौँ संस्करण आगामी असारमा आयोजना गर्ने तयारी गरेको छ। सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमध्ये परराष्ट्र मन्त्रालयसँग सम्बन्धित २४ बुँदा रहेकामा हालसम्म ११ वटा बुँदाका कार्यहरू पूर्ण रूपमा सम्पन्न भइसकेको समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ