संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले माग्यो आम नागरिकसँग सुझाव
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ८ शुक्रबार
878
Shares
काठमाडौँ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को सचिवालयले संविधान संशोधनको प्रक्रियामा आम नागरिकको सहभागिता र राय सुनिश्चित गर्नका लागि औपचारिक रूपमा सुझाव माग गरेको छ। कार्यदलले सम्पूर्ण नेपाली नागरिकहरूलाई आगामी सात दिनभित्र आ-आफ्नो लिखित सुझाव पठाउन सार्वजनिक अपिल गरेको हो।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह संयोजक रहनुभएको यस कार्यदलले यसअघि नै विभिन्न राजनीतिक दलहरूसँग लिखित सुझाव लिई चरणबद्ध रूपमा छलफल गरिसकेको छ।
व्यापक राजनीतिक तथा सामाजिक सहमति निर्माण गर्ने उद्देश्यका साथ कार्यदलले यसअघि नै विभिन्न समयमा संविधानविद्, कानुनविद्, वरिष्ठ अधिवक्ता, पूर्वप्रशासक, पूर्वकूटनीतिज्ञ, सञ्चारकर्मी र विभिन्न राजनीतिक व्यक्तित्वहरूसँग छुट्टाछुट्टै छलफल गरी महत्त्वपूर्ण सुझावहरू सङ्कलन गरिसकेको जनाएको छ।
कार्यदलका सदस्यसचिव लीलाधर सुवेदीले अहिलेको संविधानका सबल र सुधार गर्नुपर्ने पक्षहरू समेटेर परिपक्व बहसपत्र तयार गर्ने काम भइरहेको जानकारी दिए।
यसै सिलसिलामा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग निरन्तर छलफल र सुझाव सङ्कलन चलिरहेको र आम सर्वसाधारणको धारणा पनि समेट्नका लागि यो सूचना जारी गरिएको उनले स्पष्ट पारे। कार्यदलले प्राप्त भएका रचनात्मक सुझावहरूलाई वर्गीकरण गरी बहसपत्रको अन्तिम मस्यौदामा समावेश गर्ने तयारी गरेको छ।