arrow

एमाले सचिवालय बैठक

ओलीलाई मार्गप्रशस्त गर्न चार उपाध्यक्षको घुमाउरो सुझाव, बादल संस्थापनकै पक्षमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ८ शुक्रबार
uml-sachibalaya-gundu.jpg
तस्बिर फाइल

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठकमा पार्टीको समग्र साङ्गठनिक अवस्था र गत निर्वाचनको समीक्षा शुरू भएको छ। शुक्रबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा नेताहरूले पार्टीको आगामी कार्यदिशा र साङ्गठनिक सुदृढीकरणका विषयमा आ-आफ्नो धारणा राखेका हुन्।

बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै पार्टीका उपमहासचिव लेखराज भट्टले शुक्रबारको बैठकमा पाँच जना उपाध्यक्षहरूले आफ्नो विचार प्रस्तुत गरेको जानकारी दिए। उनका अनुसार बैठक मुख्यतया पार्टीको समग्र अवस्था र निर्वाचनको समीक्षामा केन्द्रित रहेको छ। निर्वाचनको समीक्षालाई दुईवटा पाटोबाट विश्लेषण गरेर अगाडि बढ्ने पार्टीको तयारी छ।

समीक्षाका क्रममा बैठकमा रोचक आन्तरिक राजनीतिक परिदृश्य देखा परेको छ। बैठकमा आफ्नो धारणा राख्ने पाँच उपाध्यक्षहरूमध्ये चार जनाले पार्टीको आगामी भविष्य र नयाँ पुस्ताको नेतृत्वबारे कुरा उठाउँदै अध्यक्ष ओलीलाई घुमाउरो भाषामा 'मार्गप्रशस्त' गर्न (नेतृत्व छोड्न) सुझाव दिएका छन्। विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले रुपान्तरण र पुस्तान्तरणको धारणा राखेका हुन् । 

तर उपाध्यक्ष रामबहादुर थापा 'बादल' भने अध्यक्ष ओलीको दरो कित्तामा उभिएका छन्। उनले वर्तमान राजनीतिक परिस्थितिमा ओलीकै नेतृत्व आवश्यक रहेको भन्दै संस्थापन पक्षको बचाउ गरेका छन्।

उपमहासचिव भट्टले नेताहरूको कार्यविभाजनको विषयमा भने आजको बैठकमा प्रवेश नभएको स्पष्ट पारे। बैठकमा अध्यक्ष ओलीले छलफलका क्रममा आएका विषयहरूमा सहजीकरण गरेका थिए। नेताहरूले निकै खुलेर र गम्भीरतापूर्वक आफ्ना विचारहरू प्रस्तुत गरिरहेको भट्टले बताए।

उनले भने, ‘कार्यविभाजनको प्रस्तावमाथि आउने सुझावका आधारमा आवश्यक परे परिमार्जन वा संशोधन गरेर जान सकिनेछ। यो विषय एजेन्डाका रूपमा आएपछि हामी आफ्ना कुराहरू राख्नेछौँ।’

सचिवालयका बाँकी १२ जना सदस्यहरूले भोलिको बैठकमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ। एमालेको अर्को बैठक शनिबार बिहान साढे ११ बजे पुनः अध्यक्ष ओलीकै निवासमा बस्ने गरी स्थगित भएको छ। 

भोलिको बैठकमा बाँकी नेताहरूले धारणा राख्ने भएकाले एमालेभित्रको वैचारिक र नेतृत्वको बहस अझै रोचक हुने अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ