पोखरामा ८१ हजार रोपनी सार्वजनिक जग्गा, संरक्षण अभियान शुरू [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ९ शनिबार
528
Shares
पोखरा। धनराज आचार्यले पोखरा महानगरपालिका क्षेत्रभित्र करिब ८१ हजार १५५ रोपनी सार्वजनिक जग्गा रहेको जानकारी दिएका छन् ।
महानगरका विभिन्न क्षेत्रमा रहेका डिल, भिर, तालतलैया, खोलानाला र जंगलसहितको विवरण संकलन गर्दा उक्त परिमाणमा सार्वजनिक जग्गा देखिएको उनले बताए।
प्रमुख आचार्यका अनुसार सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका लागि महानगरले विशेष अभियान शुरू गरेको छ ।
महानगरले सबै वडाबाट अतिक्रमित जग्गाको विस्तृत विवरण माग गरी त्यसको डेटाबेस तयार पार्ने काम अघि बढाएको पनि उनले जानकारी दिएका छन् ।
सोही अवसरमा ट्रेड युनियन महासंघले आफ्नो स्वामित्वमा रहेको एक भवन पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
वि.सं. २०६७/६८ मा मजदुरहरूको श्रम र पारिश्रमिकको योगदानबाट करिब एक करोड ६५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवन सरकारी प्रयोजनका लागि उपयोगी हुने भएकाले महानगरले स्वामित्व ग्रहण गरेको जनाएको छ ।
प्रमुख आचार्यले विगतमा पोखरी, चौर र पाटनका नामले परिचित पोखराका धेरै ऐतिहासिकस्थल अहिले अस्तित्व संकटमा पुगेको उल्लेख गर्दै तिनको संरक्षणमा महानगर केन्द्रित भएको बताए ।
“त्यस्ता ठाउँहरू के-कस्तो अवस्थामा छन् भन्ने खोजी गरी तिनको मौलिकता जोगाउने अभियानमा हामी लागेका छौं,” उनले भने ।
भवन हस्तान्तरण कार्यक्रममा उठेका श्रमिकका सवालबारे बोल्दै प्रमुख आचार्यले ट्रेड युनियनका मुद्दा व्यवस्थापन गर्न महानगरपालिकामा छुट्टै ‘डेस्क’ स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साथै, विगतमा विभिन्न संघ-संस्थालाई जग्गा र भवन उपलब्ध गराउने नीति रहे पनि अब ती संरचनालाई सार्वजनिक हित र सरकारी काममा अधिकतम उपयोग गरिने स्पष्ट पारे ।
सार्वजनिक सम्पत्तिको संरक्षणका क्रममा भौतिक संरचनाहरू ध्वंश गर्ने मात्र नभई तिनलाई सकारात्मक ढंगले उपयोग गर्ने नीति महानगरले लिएको उनको भनाइ छ ।