arrow

गुण्डूमा एमाले सचिवालय बैठक जारी, ओलीमाथि दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १० आइतबार
kp-sharma-oli-gundu.jpg

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डूस्थित निजी निवासमा जारी छ। बैठकमा पार्टीको साङ्गठनिक कार्यविभाजन, विभिन्न कार्यदलहरूको गठन तथा वर्तमान राजनीतिक घटनाक्रम लगायतका समसामयिक विषयहरूमा छलफल भइरहेको छ। 

विशेष गरी पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरण र पछिल्लो राजनीतिक परिस्थितिबारे ठोस निर्णय लिन यो बैठक आह्वान गरिएको हो। बैठकको कार्यतालिका अनुसार यसअघिका छलफलहरूमा पार्टीका पदाधिकारीहरूले उठाएका प्रश्न र जिज्ञासाहरूको सम्बन्धमा अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्। बैठकले पार्टीको साङ्गठनिक संरचनालाई थप व्यवस्थित बनाउन आवश्यक जिम्मेवारी बाँडफाँट र कार्यदल गठनसम्बन्धी निर्णयहरू गर्नेछ।

शनिबार पार्टीका शीर्ष पदाधिकारीहरूले वर्तमान नेतृत्व र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै अध्यक्षको राजीनामा समेत माग गरेका छन्। हिजो बैठकमा आफ्नो धारणा राख्ने क्रममा एमाले उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीको राजीनामा माग गरेका थिए । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार भट्टराईले अध्यक्ष ओलीलाई लक्षित गर्दै, “अब तपाईंबाट पार्टी चल्दैन। राजीनामा दिनुस्” भनी स्पष्ट रूपमा कुरा राखेका थिए।

त्यस्तै, पार्टीका महासचिव शङ्कर पोखरेलले पनि वर्तमान परिस्थिति सहज नभएको भन्दै अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने सुझाव अध्यक्ष ओलीलाई दिएका छन्।

यसअघि शुक्रबारको बैठकमा पनि चार जना उपाध्यक्षहरूले ओलीलाई घुमाउरो भाषामा 'मार्गप्रशस्त' गर्न आग्रह गरिसकेका छन्। बैठकमा आफ्नो धारणा राख्ने पाँच उपाध्यक्षहरूमध्ये चार जनाले पार्टीको आगामी भविष्य र नयाँ पुस्ताको नेतृत्वबारे कुरा उठाउँदै अध्यक्ष ओलीलाई घुमाउरो भाषामा नेतृत्व छोड्न सुझाव दिएका हुन्। उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले पार्टीमा रूपान्तरण र पुस्तान्तरणको धारणा राखेका थिए।

तर अर्का उपाध्यक्ष रामबहादुर थापा 'बादल' भने अध्यक्ष ओलीको दरो कित्तामा उभिएका छन्। उनले वर्तमान राजनीतिक परिस्थितिमा ओलीकै नेतृत्व आवश्यक रहेको भन्दै संस्थापन पक्षको बचाउ गरेका छन्।

अब चार जना सचिवहरूले आज धारणा राख्न बाँकी छ। बाँकी सचिवहरूले कुरा राखिसकेपछि प्रस्तावित ११ वटा एजेन्डाहरूमाथि औपचारिक रूपमा छलफल शुरू हुनेछ।  बैठकको अन्त्यपछि मात्रै पार्टीले गरेका आधिकारिक निर्णयहरू सार्वजनिक हुनेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ