बालेनले सम्बोधन नगर्ने भएपछि पाण्डेको टिप्पणी- गणतन्त्र दिवसमा प्रधानमन्त्रीको मौनता नाटकीय राजनीति
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ११ सोमबार
1k
Shares
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् पूर्वमन्त्री राजेन्द्र पाण्डेले प्रधानमन्त्री वालेन्द्र साह (बालेन) सार्वजनिक कार्यक्रम र संसद्मा नियमित रूपमा उपस्थित भएर देशको अवस्था र सरकारको दृष्टिकोण स्पष्ट पार्नुपर्ने बताएका छन्। प्रधानमन्त्री कुनै व्यक्ति मात्र नभई देशकै प्रतिनिधि र अन्तर्राष्ट्रिय रूपमा राष्ट्रको ऐना भएको उनको भनाइ छ।
देशको प्रधानमन्त्री संसारभरिका लागि एउटा ऐना भएको उल्लेख गर्दै नेता पाण्डेले देश कुन अवस्थामा छ भन्ने कुरा प्रधानमन्त्रीले नै व्यक्त गर्नुपर्ने धारणा राखे। यसका साथै अर्थतन्त्र, जनताका समस्या र सरकारले अगाडि बढ्न खोजेको दिशाबारे प्रधानमन्त्रीले स्पष्ट रूपमा कुरा राख्नुपर्नेमा उनले जोड दिए।
बलियो जनमत प्राप्त प्रधानमन्त्रीले सार्वजनिक रूपमा आफ्ना धारणा राख्नुपर्ने स्पष्ट पार्दै उनले मौन बस्ने प्रवृत्तिले राम्रो सन्देश नजाने बताए। "किन डराएर, किन भागेर, किन नबोलेर बस्ने? देशको प्रधानमन्त्री संसद्मा नबोल्ने, गणतन्त्र दिवसमा नबोल्ने, सार्वजनिक कार्यक्रममा नबोल्ने कुरा राम्रो हुँदैन," पाण्डेले भने।
उनले ‘नबोलीकन काम गर्ने प्रधानमन्त्री’ भन्ने भाष्यलाई नाटकीय शैलीको राजनीति भएको टिप्पणी गर्दै यसलाई एउटा नाटक जस्तो बनाइएको र प्रधानमन्त्रीले जनताको माझमा आएर आफ्ना कुरा राख्नुपर्ने बताए। प्रधानमन्त्रीको यस्तो मौनताले अन्ततः राष्ट्रलाई नै नोक्सानी पुग्ने दाबी गर्दै उनले थपे, "आज जनताले उहाँलाई ल्याएका छन्, भोलि अर्को दललाई ल्याउँछन्। तर राष्ट्रलाई घाटा हुनुहुँदैन।"
यसअघि काठमाडौँ महानगरपालिकाको मेयर रहँदा पनि साहले गणतन्त्र दिवसको औपचारिक समारोहलाई बहिष्कार गर्दै आएका थिए। यसै पृष्ठभूमिबिच आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवसको विशेष समारोहमा प्रधानमन्त्री साहले सम्बोधन नगर्ने भएका हुन्।
प्रधानमन्त्री कार्यालयले उक्त समारोहमा राष्ट्रपतिले मात्रै सम्बोधन गर्ने व्यवस्था मिलाउन अनुरोध गर्दै राष्ट्रपति कार्यालय शीतलनिवासमा पत्राचार समेत गरिसकेको छ। गणतन्त्रको संवैधानिक प्रतीक राष्ट्रपतिको संस्था भएकाले राष्ट्रपतिबाट नै सम्बोधन हुनु उपयुक्त हुने तर्कसहित प्रधानमन्त्री कार्यालयले सो पत्र पठाएको हो।