प्रधानमन्त्रीको प्राथमिकता सरकारको कार्यसम्पादनमा, तत्काल विदेश भ्रमण नगर्ने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ११ सोमबार
511
Shares
काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीको अहिलेको मुख्य प्राथमिकता सरकारको कार्यसम्पादनमा केन्द्रित हुनु रहेको कुरा व्यक्त गरे। सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रवक्ता पोखरेलले सरकारको पहिलो १०० दिनको कार्य व्यस्तताका कारण प्रधानमन्त्रीले हाल कुनै पनि देशको भ्रमण गर्ने सोच नबनाएको स्पष्ट पारे।
प्रधानमन्त्रीको सम्भावित भारत भ्रमण र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिको विदेश भ्रमणलाई जोडेर गरिएको चर्चाका सन्दर्भमा स्पष्ट पार्दै मन्त्री पोखरेलले भने, ‘प्रधानमन्त्रीज्यू अहिले भारत मात्र होइन, अन्य कुनै पनि देशको भ्रमणमा जाने तयारीमा हुनुहुन्न। हामी अहिले सरकारको सुरुवाती १०० दिनको कार्ययोजना र लक्ष्यमा बढी केन्द्रित छौँ। सभापतिज्युको भ्रमण नितान्त निजी वा पार्टीगत हुन सक्छ, यसमा प्रधानमन्त्रीज्यूको कुनै सम्बन्ध छैन।’
यसैगरी बजेट निर्माणको तयारीका विषयमा जानकारी दिँदै प्रवक्ता पोखरेलले अर्थ मन्त्रालयले बजेटको कामलाई तीव्रता दिएको उल्लेख गरे। उनीका अनुसार अधिकांश मन्त्रालयहरूले आ–आफ्नो योजना र कार्यक्रमहरू प्रस्तुत गरिसकेका छन् र बजेट निर्माण प्रक्रिया व्यवस्थित ढङ्गले अघि बढिरहेको छ।
सिंहदरबार प्रवेशमा कडाइ गरिएको भन्ने जिज्ञासामा मन्त्री पोखरेलले यसलाई ‘व्यवस्थित गर्ने प्रक्रिया’ को रूपमा व्याख्या गरे। सिंहदरबारभित्रको आवतजावतलाई थप व्यवस्थित र सहजीकरण गर्नका लागि कार्यविधि बनाइएको स्पष्ट पार्दै उनले कुन गेटबाट कति बजे कसरी प्रवेश गर्ने भन्ने विषयलाई सर्वसाधारण र कर्मचारी सबैका लागि सहज बनाउन खोजिएको बताए।
आगामी गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीको सम्बोधन हुने वा नहुने भन्ने प्रश्नमा उनले यसबारे मन्त्रिपरिषद्मा कुनै विशेष छलफल नभएको जानकारी दिए। यद्यपि, प्रधानमन्त्रीले आवश्यकता र उपयुक्तताका आधारमा उचित समयमा सम्बोधन गर्ने कुरा उनले व्यक्त गरे।