एमआरपी कार्यान्वयनमा देखिएको अन्यौलता हटिसक्योः मन्त्री गौरी
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १३ बुधबार
679
Shares
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनमा देखिएको अन्यौलता हटेको दाबी गरेकी छन्। बुधवार प्रतिनिधि सभा बैठकमा सांसदहरूले राखेका जिज्ञासाहरूको जवाफ दिने क्रममा उनले सो कुरा बताएकी हुन्। सरोकारवालाहरूसँगको नियमित समन्वयबाट सरकारले त्यस सम्बन्धमा देखिएको अन्यौलता हटाउन सफल भएको मन्त्री कुमारीको भनाइ थियो।
उपभोक्ता हित सम्बन्धी ऐन, २०७५ मा व्यवस्था भएअनुसार अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य कार्यान्वयन र सघन अनुगमन गर्ने व्यवस्था रहेको उनले स्मरण गराइन्। एमआरपी र आयात नियमन सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयबाट आवश्यक कार्ययोजना स्वीकृत गरिएको उनले संसद्लाई जानकारी दिइन्।
यस कार्ययोजना अन्तर्गत आयात भएका वस्तुमा एमआरपी भए/नभएको सुनिश्चित गर्ने जिम्मेवारी भन्सार विभागलाई दिइएको छ भने मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसको नियमित अनुगमन गरिरहेको उनले स्पष्ट पारिन्। एमआरपी कार्यान्वयन गर्ने सन्दर्भमा सुरुमा केही अन्यौलता सिर्जना भए पनि सरोकारवालासँगको नियमित समन्वयपछि यो विषय अहिले सामान्य बनेको उनले उल्लेख गरिन्।
मन्त्री कुमारीले सरकारले उपभोक्ता हित सम्बन्धी ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न उचित व्यवस्था मिलाएको समेत बताइन्। यसका साथै, भारतमा नेपाली चिया निर्यात गर्ने क्रममा देखिएको अवरोधलाई समेत सरकारले हटाउन सफल भएको उनले जानकारी दिइन्।