अस्पतालको चमेनागृह प्रकरणः नयाँ बोलपत्र आह्वान, एउटै ठेकेदार पोस्ने बाटो बन्द
नारायण वली,
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
1.1k
Shares
लुम्बिनी । सार्वजनिक खरिद ऐनको धज्जी उडाउँदै विगत पाँच वर्षदेखि एउटै ठेकेदार संस्थालाई नवीकरण गरेर दिइएको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको चमेनागृह (क्यान्टिन) प्रकरणमा अस्पताल प्रशासनले नयाँ बोलपत्र आह्वान गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर चासो देखाउँदै पत्राचार गरेपछि अस्पतालले पुरानो नवीकरणको म्याद तोड्दै प्रतिस्पर्धात्मक विधिबाट नयाँ प्रक्रिया शुरू गरेको हो ।
यसअघि चमेना गृहको ठेक्का अवधि सकिए पनि अस्पताल प्रशासनले सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ लाई ठाडो उल्लंघन गर्दै बर्सेनि सोही ठेकेदारलाई नवीकरण गर्दै आएको थियो ।
यस विषयमा हाम्राकुरा डटकममा पहिलोपटक समाचार ब्रेक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर ध्यानाकर्षण जनाउँदै अस्पताल प्रशासनलाई पत्राचार गरेको थियो ।
अख्तियारले कानुन विपरीत पटक पटक भएका सम्झौता पत्र र कागजात मगाएपछि अस्पताल प्रशासनले पुरानो सम्झौता खारेज गर्दे नयाँ ठेक्का आह्वान गरेको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको जेठ १२ गते बसेको बैठकले हाल कार्यरत ठेकेदारलाई थप म्याद नदिने निर्णय गर्दै चमेनागृह सञ्चालनका लागि खुल्ला प्रतिस्पर्धा हुनेगरी नयाँ प्रक्रियाबाट बोलपत्र आह्वान गर्ने निर्णय गरेसँगै अस्पताल प्रशासनले यही जेठ १५ गते (शुक्रवार) नयाँ ठेक्का आह्वान गरेको अस्पतालका प्रशासन प्रमुख प्रेम गौतमले जनाएका छन् । यसअघि एउटै ठेकेदारले सञ्चालन गर्दै आएको क्यान्टिनलाई पारदर्शी प्रतिस्पर्धामा ठेक्का लगाउने देखिएको छ ।
बोलपत्र सूचनामा अस्पताल परिसरभित्रका बिरामी, कुरुवा, स्वास्थ्यकर्मी तथा प्रशासनीक कर्मचारीहरुलाई स्वच्छ, स्वस्थ, गुणस्तरीय र सुलभ खानपानको व्यवस्था गर्नका लागि खुल्ला प्रतिस्पर्धात्मक विधिबाट पाँच बर्षसम्म चमेना गृह सञ्चालन गर्न पाउने समयावधि मापदण्ड उल्लेख गरिएको छ ।
यो कदमसँगै अस्पतालभित्र हुने आर्थिक अनियमितता र मिलेमतोको जालो तोडिने स्थानीय तथा सरोकारवालाहरुले विश्वास गरेका छन् । साथै, सार्वजनिक खरिद ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ अनुसार कानुन विपरीत कार्य भएको भन्दै आयोगले अनुसन्धान अघि अगाडि बढाएको स्रोतले जनाएको छ ।