arrow

कृषि क्षेत्रको विकासका लागि योजनाबद्ध नीति र सस्तो ब्याजदरमा कर्जा आवश्यक: राष्ट्रपति पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
ramchandra-15.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनुपर्ने बताएका छन्। राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले उक्त धारणा व्यक्त गरेका हुन्।

 देशलाई समृद्धितर्फ अग्रसर बनाउन राज्यले कृषि क्षेत्रका विद्यमान समस्या र चुनौतीहरूको पहिचान गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसका लागि लगानीको सुनिश्चितता गर्न र सस्तो ब्याजदरमा कृषि कर्जाको व्यवस्था गर्न आवश्यक रहेको तथ्य स्पष्ट पारे। मुलुकमा उत्पादन र रोजगारी वृद्धि गरी आयात घटाउने तथा निर्यात बढाउनेतर्फ सरकार, नीति निर्माता, योजनाविद् तथा सरोकारवाला निकायहरूले विशेष कार्यक्रम ल्याउन जरुरी रहेको उनले औँल्याए।

समारोहमा बोल्दै राष्ट्रपति पौडेलले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा उद्यम केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। १६औँ योजनाले निर्दिष्ट गरेको लक्ष्य हासिल गर्दै देशलाई समृद्धिको मार्गमा लैजान कृषि क्षेत्रको सुधार अपरिहार्य रहेको उनको भनाइ थियो। विशेष गरी वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई उनीहरूले विदेशमा सिकेको सीपको सही प्रयोग हुने गरी कृषितर्फ आकर्षित गर्न लगानीमैत्री वातावरण सिर्जना गर्न आवश्यक रहेको भन्दै यसमा सरकार र निजी क्षेत्र दुवैले विशेष चासो दिनुपर्ने उनले बताए।

कृषकहरूले भोग्दै आएका समस्याहरूको चर्चा गर्दै राष्ट्रपति पौडेलले कृषकका उपजहरूको उचित बजारीकरण, समयमा नै बीउबिजन तथा मलको आपूर्ति, कृषकका समस्याहरूको पहिचान र व्यवस्थापन, नवीनतम् औजार र उपकरणहरूको उपलब्धता जस्ता विषयहरू आजका जल्दाबल्दा आवश्यकता रहेको उल्लेख गरे। यी समस्याहरूको समाधानका लागि राज्यले कृषकहरूलाई सहुलियतपूर्ण कर्जा र कृषि बिमालाई आफ्नो मुख्य प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ