सहरका ढल र सिँचाइ कुलोमा बढ्दो प्लास्टिक प्रदूषणः बुटवलमा सचेतना अभियान
नारायण वली,
प्रकाशित २०८३ जेठ १६ शनिबार
1.1k
Shares
लुम्बिनी । बुटवलमा बढ्दो सहरीकरण र जनघनत्वले सिँचाइ कुलो, ढल र सडकमा फोहोर मैला तथा प्लाष्टिकजन्य प्रदूषण भयावह बन्दै गएको छ ।
प्राकृतिक जलस्रोत, सिँचाइका कुलो, तथा ढल निकासका संरचनाहरुमा फोहोर थुप्रिने क्रम बढ्दो छ । प्लाष्टिकका झोला, बोतल र अन्य नकुहिने फोहोरका कारण पानीको निकास अवरुद्ध हुने र दुर्गन्ध फैलने समस्या जटिल बन्दै गएको छ ।
यसले एकातिर स्थानीय कृषि तथा सिँचाइ प्रणालीमा प्रत्यक्ष असर पुर्याएको छ, भने अर्कोतर्फ सहरको सौन्दर्य र जनस्वास्थ्यमा गम्भीर चुनौती थपेको छ ।
प्रदूषण विकराल बन्दै गएको समस्यालाई मध्यनजर गर्दै पर्यावरण संरक्षण समाज नेपाल बुटवलको आयोजना तथा बुटवल उपमहानगरको सहकार्यमा शनिवार (आज) कुलो कुलेसो तथा सहरको प्रदूषण नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरिएको छ ।
कार्यक्रममा सरोकारवाला निकायले सरसफाइ अभियानलाई एकदिने वा पर्व विशेषमा मात्र सीमित नगरी प्रत्येक नागरिकले दैनिक जीवनशैलीको रुपमा अंगाल्दै समुदायलाई ‘मेरो फोहर, मेरो जिम्मेवारी’ भन्ने बोध गराउनु भन्दै सहरका कुलो, कुलेसो र तिनाउ नदी, सोह्र छत्तीस संयुक्त सिँचाई प्रणाली नहर, सुखौरा खोला र दानव जस्ता जल सम्पदामा प्लास्टिक तथा सिसाजन्य फोहोर फाल्ने प्रवृत्तिलाई निषेध गर्न कडा कानुनी निगरानी आवश्यक भएको बताए ।
पर्यावरण संरक्षणकर्मीहरुले बुटवलभित्र उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई स्रोत (घर तथा कार्यालय) मै वर्गीकरण गर्ने प्रणालीलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने र फोहोरबाट मोहर उत्पादनमा जोड दिनुपर्ने जिकिर गरे । पर्यावरण संरक्षण समाज नेपालकी संस्थापक केन्द्रिय अध्यक्ष गंगा पोख्रेलले चुरे क्षेत्र र नगरका खाली जग्गामा ‘एक वन एक पोखरी’ जस्ता नमूना अभियानलाई निरन्तरता दिँदै वन तथा जलाधार संरक्षण गरी जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्नुपर्ने सुझाइन् ।
इको यात्री प्रकृति पोख्रेलले बजारमा सात प्रकारका प्लास्टिक प्रयोग हुँदै आएको बताउँदै प्लास्टिकको प्रयोगले स्वास्थ्यलाई गम्भीर क्षति पुर्याउने भन्दै माटो प्रदूषणको प्रमुख विषादी भन्ने बताइन् । उनले घरदेखि नै यसलाई विशेष ध्यान दिएर कुनै पनि सामान बजारबाट बिनेर ल्याउँदा निरुत्साहित गर्ने हो भने यसको असरलाई क्रमिकरुपमा हटाउन सकिनेछ ।
गीतमार्फत पर्यावरणीय सन्देशको लोकार्पण
सफाइ कार्यक्रमसँगै अभियानलाई दीर्घकालीन र प्रभावकारी बनाउन ‘पर्यावरणीय गीत’ पनि लोकार्पण गरिएको छ । गीतका माध्यमबाट आम नागरिकलाई प्रकृतिको महत्त्व बुझाउन, फोहर जथाभावी फाल्ने प्रवृत्तिको विरोध गर्न र पर्यावरण संरक्षणमा एकजुट हुन आह्वान गरिएको छ । कला र संगीतको माध्यमबाट मानिसको मनमा वातावरणप्रतिको माया र दायित्वबोध गराउने उद्देश्यले उक्त गीत सार्वजनिक पर्यावरण संरक्षण समाजले जनाएको छ ।