काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट प्रतिबन्धित तथा अवैध लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नेपालका विभिन्न जिल्ला र स्थानीय तहबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले काठमाडौँ महानगरपालिका–१७ कालधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५९० ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ। त्यसैगरी, गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीबाट नियन्त्रित लागूऔषध डाइजेपाम २१ एम्पुल, फेनारगन २० एम्पुल, बुप्रेनोर्फिन २१ एम्पुल र नगद २० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। उपत्यकाबाहिर बझाङको केदारस्युँ गाउँपालिका–९ झोता बजारस्थित अनिल होटलबाट अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बसपार्कबाट ब्राउनसुगरसहित तीन जना र सल्ल्यानको बागचौर नगरपालिका–२ खरिबोटबाट ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन्।
यसैगरी मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीबाट खैरो हेरोइन बोकेका दुई जनालाई एउटा डिजिटल तराजु र नगद १२ हजार ७१० रुपैयाँसहित शुक्रबार पक्राउ गरिएको थियो। मोरङकै बेलबारी नगरपालिका–१ सिसौली टोलस्थित रोमन राईको घर तलासी गर्दा नियन्त्रित लागूऔषध ट्रामाडोल २०० ट्याब्लेट र डाइक्लोमाइन ३६० ट्याब्लेट फेला परेपछि शुक्रबार राति तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा ३० वर्षीय रोमन राई, २५ वर्षीय बिकल राई र ३० वर्षीय सुदेश राई रहेका छन्। इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले लागूऔषध सम्बन्धी छुट्टाछुट्टै अप्रेशनका क्रममा शनिबार पनि देशका विभिन्न स्थानबाट धेरैलाई पक्राउ गरेको छ। जसअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीबाट एक, नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१६ अमहवाबाट एक, र भक्तपुरको मध्यपुर थिमि नगरपालिका–५ कमेरोटारबाट दुई जना पक्राउ परेका छन्।
त्यसैगरी बर्दियाको गुलरिया नगरपालिका–८ थपुवाबाट चार, रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१४ छेपारेबाट एक, र चितवनको खैरहनी नगरपालिका–८ चौबिसकोठीबाट एक जना पक्राउ परेका छन्। सर्लाहीको ईश्वरपुर नगरपालिका–८ रामपुरबाट भने प्रहरीले ५५ किलो गाँजासहित एक जनालाई शनिबार नियन्त्रणमा लिएको छ।