बालेनले भने- एक वर्षभित्र मुलुकबाट भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध छ
यो वर्ष सुशासनको वर्ष हो
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
743
Shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेनले एक वर्षभित्र मुलुकबाट भ्रष्टाचार निर्मूल गर्ने काममा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशमा व्याप्त भ्रष्टाचार र बेथितिहरूलाई हटाउन लागिपरेको जानकारी दिएका हुन्।
सरकारले यस वर्षलाई 'सुशासन वर्ष' को रूपमा लिएको स्पष्ट पार्दै उनले सुशासन प्रवर्द्धनका लागि विभिन्न मन्त्रालयले आफ्ना मातहतका निकायहरूमा कडा निगरानीका साथ काम गरिरहेको उल्लेख गरे।
प्रधानमन्त्री साहले सुशासनको वर्ष भन्दैमा विकास निर्माण र पूर्वाधारका कामहरू रोकिने नभई ती कामहरू अझ पारदर्शी ढंगले अघि बढ्ने स्पष्ट पारे। मुलुकमा वर्षौंदेखि भ्रष्टाचारले बलियो जरा गाडेर बसेको स्वीकार गर्दै उनले यसलाई बदल्ने गरी सरकारले काम गरिरहेको र यसको सकारात्मक प्रभाव मालपोत लगायतका सरकारी कार्यालयहरूमा देखिन थालेको जिकिर गरे।
प्रधानमन्त्री साहले संसद्मा भने, “हामीले पहिलो वर्षलाई सुशासनको वर्षको रुपमा लिएका छौँ । सुशासन भन्दैमा हामीले विकास नै गर्दैनौ, पूर्वाधारको काम नै गर्दैनौ भन्ने होइन । यो वर्षलाई पूरा हाम्रो माननीय मन्त्रीज्यूहरु र विभिन्न क्षेत्रबाट आउनुभएका माननीयज्यूहरु उहाँहरुको निगरानीमा पनि विभिन्न क्षेत्रहरु हुन्छन । हाम्रो नेपाल सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीले यो पहिलो वर्ष पूर्ण रुपमा देशलाई सुशासनतर्फ लैजाने, बेथितिहरुलाई हटाउने, बलियो जरा बनाएर बसेको यो भ्रष्टाचारलाई निर्मूल गर्न नेपाल सरकार, हाम्रो पार्टी एकदमै तत्पर रहेको छ । यो मालपोतलगायतका सरकारी कार्यालयमा जाँदा देख्नु पनि भएको होला । यसलाई नेपाल सरकारले निरन्तरता दिनेछ ।”
सरकारी सेवा प्रवाहमा सुधार ल्याउने र बेथितिहरूलाई हटाउने यो अभियानलाई नेपाल सरकारले निरन्तरता दिने प्रतिबद्धता प्रधानमन्त्री साहले सदनसमक्ष दोहोर्याएका छन्।