होटलको आवरणमा देह व्यापार, प्रहरीको भूमिका शंकास्पद
नारायण वली,
प्रकाशित २०८३ जेठ १८ सोमबार
2.3k
Shares
लुम्बिनी । कपिलवस्तुको सीमावर्ती सहर कृष्णनगरका होटलहरुमा पछिल्लोसमय अनैतिक र गैरकानूनी गतिविधि मौलाउँदै गएको पाइएको छ । होटललाई विश्रामस्थल र पर्यटन प्रवर्द्धनको माध्यम बनाउनुको साटो अवैध देहव्यापार (यौन धन्दा) को सुरक्षित अखडा बनाइएको तथ्य फेला परेको हो ।
उद्योग वाणिज्य संघ कृष्णनगरले शनिबार आकस्मिक अनुगमन गर्दा पुरानो बसपार्क नजिकै रहेको न्यू सेन्चुरी होटल रेष्टुरेण्ट एण्ड लजमा आपत्तिजनक अवस्थामा महिला तथा पुरुष फेला पारेपछि यस क्षेत्रको विकृति सतहमा आएको हो ।
अनुगमनका क्रममा होटलबाट ठूलो परिमाणमा यौनजन्य सामग्री बरामद भए पनि प्रहरीले होटल सञ्चालकलाई कानूनी दायरामा नल्याई उन्मुक्ति दिन खोजेको भन्दै स्थानीयस्तरमा तीव्र आक्रोश पैदा भएको छ ।
बजारमा अनैतिक र गैरकानूनी गतिविधि बढेको जनगुनासो आएपछि उद्योग वाणिज्य संघका अध्यक्ष रितेश शर्माको नेतृत्वमा गएको एक टोलीले होटलको अनुगमन गर्दा कोठाभित्र अनैतिक र आपत्तिजनक क्रियाकलाप भइरहेको अवस्थामा केही महिला र पुरुष फेला परेपछि अध्यक्ष शर्माले तत्कालै इलाका प्रहरी कार्यालय कृष्णनगरलाई घटनाबारे जानकारी गराएका थिए ।
लगत्तै प्रहरी र अनुगमन टोलीले संयुक्त रुपमा होटलमा छापा मार्दा होटलका कोठाहरुबाट करिब १५० थान भन्दाबढी प्रयोग गरिएका अस्थायी साधन (कण्डमहरु) बरामद भएको र प्रहरीले होटल सञ्चालक राजकुमार जयसवाललाई उम्काउन खोजेपछि उद्योग वाणिज्य संघ कृष्णनगरले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै संघले प्रहरी प्रशासनलाई निरन्तर अनुगमन तथा आवश्यक कदम चाल्न माग गरेको छ ।
अध्यक्ष शर्माले भने, 'हामीले समाजलाई विकृतिमुक्त बनाउन र मर्यादित व्यवसाय सञ्चालनका लागि अनुगमन गर्दा रंगेहात संलग्नलाई बुझायौँ । तर प्रहरीले मुख्य होटल सञ्चालकलाई कानूनी दायरामा नल्याई उन्मुक्ति दिनु निकै निन्दनीय र शंकास्पद छ । गलत क्रियाकलाप गर्ने र गराउने जोसुकै भए पनि कडा कारबाही गर्नुपर्छ ।'
सम्मेलनमा सरोकारवाला निकायले प्रहरीले घटनास्थलबाट आपत्तिजनक अवस्थामा भेटिएका केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको र सोही क्रममा सँगै रहेका होटल सञ्चालकलाई नियन्त्रण नगरी उन्मुक्ति दिनु प्रहरीको फितलो अनुसन्धान र शंकास्पद भूमिका देखिएको बताएका छन् ।
अवैध धन्दा चलाउने होटल सञ्चालक मुख्य अभियुक्त ठहरिनुपर्नेमा कृष्णनगर प्रहरीले उनलाई किन र कसको दबाबमा नियन्त्रणमा लिएन भन्ने विषयले यतिबेला खोजी र अनुसन्धानको नयाँ पाटो बनेको कृष्णनगरका समाजसेवी सुदीप त्रिपाठीले बताए ।
उनले भने, 'गोलघर आसपासमा रहेका होटलहरुले पनि यस्ता देह व्यापार गर्दै आएको भन्दै स्कुलकै पोसाकमा कतिपय विद्यार्थी युवतीहरू आउने गरेकोमा प्रशासनले अनैतिक क्रियाकलापमा संलग्नलाई तत्काल कारबाही गरी समाजलाई सूसुचित बनाउनुपर्छ ।'
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिवप्रसाद घिमिरेले होटल व्यवसाय पर्यटन प्रवर्द्धनका लागि भएको बताउँदै देह व्यापार र अनैतिक क्रियाकलाप चलाउनका लागि नभइ पर्यटन क्षेत्रका रुपमा रहेका होटलहरुलाई मर्यादित, सुरक्षित र पारिवारिक बनाउनुपर्ने जोड दिदै केही होटलहरुले गलत क्रियाकलाप गरेर समग्र व्यावसायिक क्षेत्रकै बदनाम गराइरहेको बताए ।
उनले अगाडि थपे, 'हामी गलत गर्नेहरुको बचाउमा लाग्दैनौँ । मैले प्रत्येक होटलहरुमा के गर्न मिल्ने, के नमिल्ने भन्ने विषयमा जानकारीमूलक लिखित दस्तावेज दिएको छु । न्यू सेन्चुरी होटल संघमा दर्ता छ, तर हामीले यस्ता गलत क्रियाकलाप गरेको थाहा पाएपछि सचेत गरायौँ, उहाँहरूले टेर्नु भएन, त्यसपछि हामीले नवीकरण गरिदिएनौँ । यसअघि पनि यस्तै कार्य गरेको आरोपमा पक्राउ पर्नुभएको थियो । पछिल्लोसमय भने निर्वाध रुपमा चलाउँदै आएको अवस्थामा उद्योग वाणिज्य संघले अनुगमन गर्दा गलत क्रियाकलाप भेट्टाएपछि अहिले ताला लगाइएको छ, गैरकानूनी देह व्यापार गर्नेमाथि कानुनी कारबाही गर्नुपर्छ भन्नेमा संघ प्रतिबद्ध छ ।'
साना हातहरु संस्थाकी सीमा निगरानी सहजकर्ता भीमा परियारले सोही होटलबाट आफुले ६ जना बालिकाहरुको उद्धार गरी परिवारजनको जिम्मा लगाएको भन्दै उक्त होटल सञ्चालकलाई सचेत गराउँदा समेत अटेरी गर्दै आएको थियो ।
'चन्द्रौटामा शनिबार त्यही होटलमा आउँदै गरेकी एक बालिकालाई हाम्रो संस्थाकी एक म्याडमले रोकेर परिवारलाई बोलाएर घर पठाउनु भएको थियो', उनले भनिन् ।
शान्तिपूर्ण पुनर्स्थापना केन्द्रका दिनेश तिमिल्सिनाले सीमा क्षेत्रमा हुने महिला ओसारपसार व्याप्त रहेको भन्दै आफूहरुले महिनामा तीस चालीस जनालाई उद्धार गर्ने गरेको जनाए ।
यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले होटलकी सञ्चालिकासहित दुई जना महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।
कृष्णनगर क्षेत्रका होटलहरुमा अवैध गतिविधि भइरहेको गुनासो आएपछि निगरानी बढाइएको जनाएको छ ।